सामाजिक सुरक्षा योजनामा विदेशमा रहेका नेपालीको सहभागिता उत्साहजनक, सबैभन्दा धेरै मलेसियाबाट
९ भदौ, काठमाडौं । सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबैभन्दा धेरै मलेसिया गएका नेपाली श्रमिक आबद्ध भएका छन् । २०७९ चैत ८ गतेदेखि सरकारले वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजना कार्यान्वयनमा ल्याएको थियो ।
इजरायलमा रहेकी एक नेपालीका श्रीमानलाई परिचय पत्र दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो योजनाको उदघाटन गरेका थिए । त्यसयता तीन लाख बढी नेपाली सामाजिक सुरक्षा योजनामा आबद्ध भइसकेका छन् । तीमध्य सबैभन्दा धेरै मलेसियाबाट ६४ हजार ३२२ जना नेपाली श्रमिक आबद्ध भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।
दोस्रोमा संयुक्त अरब इमिरेट्स (युएई) जाने ५५ हजार ८२१ रहेका छन् भने कतारमा ५४ हजार ७७८ जना, साउदी अरबमा ४७ हजार ६२५ जना, कुवेतमा १७ हजार १६९ जना, दक्षिण कोरियामा १२ हजार ४७६ जना श्रमिक सामाजिक सुरक्षा कोषको सामाजिक सुरक्षा योजनामा आबद्ध भएको प्रवक्ता पन्थीले जानकारी दिए ।
कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ६० लाख रुपैयाँ कोषमा जम्मा भएको छ । ‘कोषका प्रवक्ता विवेक पन्थीले भने, ‘वैदेशिक रोजगारमा जाने तयारीमा रहेका तथा विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने क्रम उत्साहजनक छ ।’
कसरी सहभागी हुने ?
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले विदेश जानेले अनिवार्य कोषमा योगदान गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन आवेदन दिएर र कोषमा सिधै आवेदन दिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू सामाजिक सुरक्षामा जोडिन सक्छन्। विदेशमा हुनेहरूलाई पनि मन्त्रालयले पुनः श्रम स्वीकृति सम्बन्धित मुलुकबाटै गर्न सक्ने व्यवस्था गरेको छ । श्रम स्वीकृति नवीकरण गर्ने क्रममा सामाजिक सुरक्षामा जोडिन सकिन्छ ।
यसरी सूचीकरण भएपछि सम्बन्धित व्यक्तिको इमेलमा सामाजिक सुरक्षा कार्ड र नम्बर जान्छ र त्यही नम्बरका आधारमा आफ्नो योगदान जम्मा गर्न सकिन्छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि नागरिकता वा राहदानीको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, नियुक्ति पत्रको प्रतिलिपि, काम गर्ने स्थानको ठेगाना र सम्पर्क आवश्यक पर्छ । यसैगरी स्वरोजगारमा रहेका नेपालीहरूका लागि नागरिकता वा राहदानीको प्रतिलिपि,
भिसा वा प्रवेश आज्ञाको प्रतिलिपि, पेसा व्यवसाय दर्ताको प्रतिलिपि र काम गर्ने स्थानको ठेगाना र सम्पर्क आवश्यक पर्छ ।
कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षामा आबद्ध हुन न्यूनतम २००२ रुपैयाँ जम्मा गरे पुग्छ। तर कोषमा हरेक महिना रकम जम्मा गर्नुपर्छ। विदेशमा बस्ने नेपालीले कनेक्ट आइपीएस सहित ईसेवा, खल्ती जस्ता वालेट अथवा फोन पे वा रेमिटको माध्यमबाट कोषमा पैसा जम्मा गर्न सकिन्छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्तीमा ९ महिनाको योगदान जम्मा गरेपछि मात्रै कोषबाट पाइने बीमा लगायतका सुविधा पाउँछन्।
सुविधा के पाइन्छ ?
नेपाल फर्किइसकेपछि आफूले जम्मा गरेको रकम निकाल्न पनि सकिन्छ ।
सामाजिक सुरक्षा कोषको सामाजिक सुरक्षा योजनामा आबद्ध भएमा एक लाखसम्मको औषधि उपचार सुविधा निःशुल्क पाइन्छ । दुर्घटना भएमा पनि एक लाखसम्मको उपचार सुविधान पाइन्छ । तर कोषबाट दुर्घटना उपचार खर्च लिन दुर्घटना भएर अस्पतालमा उपचार गराएको बिल पेस गर्नुपर्छ।
अशक्त भएमा कोषमा योगदान गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकम मासिक रूपमा अशक्तता वृत्ति भनेर कोषले उपलब्ध गराउँछ।