सरकारमा फर्किन छटपटिरहेका रवि र रास्वपा, प्रचण्डसँग भित्र भित्रै यसरी भैरहेको छ लविइङ

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्रीबीच गत साता बालुवाटारमा भेट भयो । उक्त भेटमा लामिछानेले प्रचण्डलाई भ्रष्टाचारीलाई यसरी नै कारबाही गर्दै गए सरकारलाई रास्वपाले सघाउने बताएका थिए।

रविले पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर अहिले रास्वपा सरकारबाहिर छ ।

सरकारबाट बाहिरिए पनि रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन कायम राखेको थियो तर, गत २२ वैशाखमा फिर्ता लियो । र, प्रतिपक्ष बेञ्चमा बस्ने निर्णय लियो । त्यसपछि माओवादी र रास्वपाबीच अविश्वास बढेको थियो । तर, पछिल्लो समय फेरि माओवादी र रास्वपानजिक देखिन थालेका छन् । सुन काण्डले दुई पार्टीलाई नजिक बनाएको नेताहरूको दाबी छ ।

‘सुन प्रकरणमा एमालेको भन्दा फरक मत रास्वपाले राख्यो । एमालेले सदन चल्न दिएन । रास्वपा सदन चलाउनुपर्ने पक्षमा उभियो । एमालेसँग दूरी बढेपछि माओवादीसँग नजिक देखिनु स्वाभाविक हो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने ।

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी एमालेले सदन अवरोध गरेपछि रास्वपाले सहमतिका लागि पहल पनि गर्‍यो । सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीसँग भेटेरै सदनको अवरोध हटाउन पहल गरे । जसका कारण प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच सम्बन्धमा सुधार आएको रास्वपाका नेताहरू बताउँछन् ।

‘प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध बन्दै गएको छ । सदनको अवरोध हटाउन प्रधानमन्त्री र सभापतिबीच भेट पनि भएको थियो,’ रास्वपाका एक नेताले भने, ‘प्रधानमन्त्रीले पनि रास्वपाको विश्वास खोजिरहेको देखिन्छ ।’

संसदको चौथो शक्ति रास्वपासँग २१ सिट रहेकाले पनि प्रधानमन्त्री प्रचण्ड नजिक हुन चाहन्छन् । तर, रास्वपा सभापति लामिछाने एमाले अध्यक्ष ओलीसँग नजिक हुने गरेकाले प्रधानमन्त्री प्रचण्ड सशंकित छन् । ‘प्रधानमन्त्रीज्यू सभापतिसँग अलि संशकित देखिनुहुन्छ । तर, पछिल्लो समय सम्बन्ध राम्रो बन्दै गएको छ,’ रास्वपाका एक नेताले मुलखबरलाई भने ।

तर, रास्वपाका प्रवक्ता डा. मुकुल ढकाल मुद्दामा कहिले कुन दलसँग कहिले कुन दलसँग नजिक देखिनु स्वाभाविक भएको बताउँछन् । ‘रास्वपा सबै दलसँग समदूरीमा रहन्छ । मुद्दामा नजिक र टाढा हुने हो,’ उनले भने । रास्वपालाई फेरि सरकारमा ल्याउन चाहेको हो भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डका सल्लाहकार गजुरेल भन्छन्, ‘यस विषयमा छलफल भएको छैन ।’

एमालेसँग टाढिँदै
पुस १० मा सरकारमा सहभागी भएपछि एमाले अध्यक्ष ओली र रास्वपाका सभापति लामिछानेबीच थप घनिष्ठ सम्बन्ध बन्यो । संसदमा एमालेका अध्यक्ष ओलीले सम्बोधन गर्दा रास्वपाका सांसदले टेबुल ठोक्नेसम्मकाे निकटता देखिएकाे थियाे । एमालेको लाइनमा रास्वपा चलेको आरोपसमेत लाग्थ्यो । यतिसम्म कि नागरिकता प्रकरणमा गृहमन्त्री पद गुमाएर पुनः नागरिकता लिएपछि सभापति लामिछानेलाई गृहमन्त्री बनाउन अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब पनि दिएका थिए ।

तर पछिल्लो समय संसदमा एकपछि अर्को अवरोध गरेपछि एमालेको भूमिकामाथि रास्वपाले गम्भीर प्रश्न उठाएको छ । ‘सत्तामा हुँदा संसद विघटन र प्रतिपक्षीमा हुँदा अवरुद्ध गर्ने कस्तो सिद्धान्त हो ? यो व्यवस्था मन नपरेको हो भने खुलस्त भन्नुपर्‍यो । सदन अवरुद्ध गरेर जनताको आवाजलाई बन्धक बनाउन मिल्दैन,’ रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले भने ।

स्रोतका अनुसार रविलाई सरकारमा फर्किने तीव्र चाहाना छ तर खुलेर भन्न सकिरहेका छैनन्। खासगरी पुरानै पोर्टफोलियोसहित सत्तामा फर्किन पाए जुनसुकै हदसम्म जान सक्ने उनको रणनीति छ। तर हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राम्रो काम गरेर प्रशंसा पाइरहेकाले रविलाई कठिन परिरहेको छ।