संसदमा समिति सभापतिको रस्सा-कस्सीः यी हुन् सम्भावित उम्मेद्वार, रास्वपाको आफ्नै मेसो

मूलखबर संवाददाता
काठमाडौं

संसदका विषयगत समिति सभापतिको चुनाव ११ भदौ हुँदै छ । प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेपछि सभामुख घिमिरेले १० वटा विषयगत समिति सभापतिको चुनावको मिति तय गरेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम १७६ अनुसार सभापतिको निर्वाचन गर्न लागिएको हो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी एमालेबीच समितिमा भागवण्डा मिलिसकेको छ ।

दश विषयगतमध्ये प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सार्वजनिक लेखा र महिला तथा सामाजिक समिति पाउने सहमति भएको छ। एमालेले संघीय संसद्को थप एक संयुक्त समितिको पनि नेतृत्व पाउने सहमति छ।

प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने समितिको नेतृत्व नपाउने निश्चित छ।

आठ विषयगत समितिमा कांग्रेसले ३, माओवादी केन्द्रले २, जनता समाजवादी पार्टीले १, नेकपा (एकीकृत समाजवादी) ले १ र जनमत पार्टीले एक समितिको नेतृत्व गर्नेछन्।

को को बन्दैछन् सभापति?
एमाले, माओवादी केन्द्र र अरु साना दलले समिति सभापतिको करिब टुंगो लगाएका छन्। सत्तारुढ दल जनमतले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व पाउने गठबन्धनमा सहमति भएको थियो। जनमतका अब्दुल खान सभापति हुने निश्चित देखिन्छ। किनभने उद्योग समितिमा जनमतबाट अरु सांसद छैनन्। खानलाई सभापति बनाउनका लागि उक्त समितिमा रहेकी सोनु मुर्मुलाई भदौ ६ गते कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा लगिएको थियो। सरकारमै रहेको अर्को दल जसपाले अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको नेतृत्व पाउने सहमति छ। जसपाका सांसद राजकिशोर यादव सभापतिको उम्मेद्वार हुने जसपा स्रोतले बतायो।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले कानुन, न्याय तथा मानव अधिकार र पूर्वाधार विकास समितिको नेतृत्व पाउने सहमति सत्तारुढ दलभित्र छ। जसमा पूर्वाधारमा माधव सापकोटा र कानुनमा विमला सुवेदीलाई माओवादी केन्द्रले सभापति बनाउँदै छ। सत्ता गठबन्धनको सहमति अनुसार सरकारमै रहको अर्को दल एकीकृत समाजवादीले शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेतृत्व पाउने छ। जसमा भानुभक्त जोशी सभापतिको उम्मेद्वार बन्दैछन्।

एमालेबाट उम्मेद्वार को?
सत्ता गठबन्धनसँगको सहमति अनुसार एमालेले संसद्का ३ समितिको नेतृत्व पाउने छ। जसमा एक संयुक्त र दुई विषयगत समिति छन्। भदौ ११ को विषयगत समितिको सभापति चयनमा एमालेले उम्मेद्वार तय गरिसकेको छ। संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनमा एमालेले विमला घिमिरेलाई उम्मेद्वार बनाउँदै छ। यस्तै विषयगतमध्ये सार्वजनिक लेखामा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साहलाई उम्मेद्वार बनाउँदै छ। साह स्वतन्त्र निर्वाचित भई एमाले प्रवेश गरेका हुन्।

कांग्रेसमा किचलो

सभाको सबैभन्दा ठूलो दल कांग्रेसले संयुक्तसहित चार समितिको नेतृत्व पाउने छ। कांग्रेसले एक संयुक्त र दुई विषयगतमा उम्मेदवार टुंगो लगाएको छ। अर्थ समितिमा उम्मेद्वार टुंगो लगाएको छैन। राज्य व्यवस्था तथा सुशासन, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, संसदीय सुनुवाइ र अर्थ समिति कांग्रेसको भागमा छ। कांग्रेस सांसद पुष्पबहादुर साहले शनिबार सभापतिको उम्मेदवारको टुंगो लगाउने तयारी रहेको बताए।

संसदीय सुनुवाइमा कांग्रेसबाट जीवन परियार उम्मेद्वार हुने कांग्रेस स्रोत बताउँछ। राज्य व्यवस्थामा रामहरि खतिवडाको उम्मेद्वारी निश्चितजस्तै छ। अर्थ समितिमा सन्तोष चालिसे, विनोद चौधरी वा ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एक सभापतिको उम्मेद्वार हुने कांग्रेस नेताहरु बताउँछन्। खतिवडालाई सभापति चयनकै लागि कानुनबाट राज्य व्यवस्था समितिमा लगिएको कांग्रेस स्रोतको दाबी छ। प्रतिनिधि सभाको भदौ ६ गतेको बैठकले सदस्यहरुको समिति हेरफेर गरेको थियो।

दिपक खड्कालाई समेत अर्थमा प्रस्ताव गरिए पनि खड्काले अस्वीकार गरेको स्रोत बताउँछ। खड्का प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने लगभग फाइनल हुँदा अन्तिम समयमा फालिएका थिए। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा उम्मेद्वार हुने करिब निश्चित छ।

रास्वपाको आफ्नै मेसो
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ। समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले आफ्नो क्षमताले भ्याउने समितिहरु सबैमा समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो । शुक्रवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने बताए।


उनले बैठकमा पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वको विषय भदौ १७ गतेपछि बस्ने संसदको बैठकमा छलफल गर्ने निर्णय गरेको बताए । उनले पार्टीका उपनेता विराजभक्त श्रेष्ठले डेंगु रोग सम्बन्धी संकल्प प्रश्ताव दर्ता गरेको र त्यसलाई पनि संसदमा छलफल गर्ने निर्णय भएको बताए । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको बताए ।