
मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजिएको छ : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लाई अध्यादेशको भरमा चलाउन खोजिएको, तर जनताको असन्तोषलाई बेवास्ता गरिएको बताएका छन् ।
आज बुटवलमा राप्रपाले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ धकेलेको आरोप लगाएका छन् ।
“देशमा उजुरी गर्न पाइन्छ, तर कारबाही हुँदैन । यस्तो व्यवस्थाले अब कुनै हालतमा काम गर्ने छैन,” उनले टिप्पणी गरे । उनले नेपालका लागि वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नेजस्ता प्रस्ताव अघि सारे । “नेपाल जस्तो सानो देशमा यति धेरै जनप्रतिनिधि पाल्न सकिँदैन, अन्य तहहरूमा कटौती गर्नुपर्छ,” उनले जोड दिए ।
अध्यक्ष लिङ्देनले भ्रष्टाचार संस्थागत भएको, राजनीतिक दलहरू स्वार्थमा लिप्त भएको, तथा जनताको अवस्था झनै दयनीय बनेको बताएका छन्। “देशमा हिजोदेखि नै भ्रष्टाचार थियो, तर अहिले झन् संस्थागत बनाइएको छ,” उनले भने ।
बिदेसिएका युवाको अवस्था दर्दनाक रहेको उल्लेख गर्दै उनले सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न नसकेको आरोप लगाए । “हामीले पर्खेर बस्नु भनेको देश बरबादीतर्फ जानु हो,” उनले चेतावनी दिए। साथै, उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मृत शरीर स्वदेश फर्कँदा राजनीतिक दलहरूले जस लिने प्रवृत्तिको आलोचना गरे ।
अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्थाको पुनः स्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राखे। “राजा रहनुपर्छ, तर प्रधानमन्त्री जनताबाट निर्वाचित हुनुपर्छ, जसलाई दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था ल्याउनुपर्छ,” उनले बताए ।
