जर्जियाको जेलमा पुगेका डोनाल्ड ट्रम्प कसरी भए रिहा
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको एक जेल आत्मसमर्पण गरेका छन्। सन् २०२० मा भएको निर्वाचनमा धाँधली गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ।
बिहीबार ट्रम्पले फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका थिए। जेलमा ट्रम्पको औंठाछापसहित उनको शरीरको उचाईं र तौल नापिएको थियो। प्रहरीको रेकर्डमा राख्न ट्रम्पको ‘मगशट’ (तस्विर) समेत खिचिएको थियो।
यसअघि पनि ट्रम्पले तीनपटक अदालतमा आत्मसमर्पण गरेका थिए। तर उनी जेलमा गएका थिएनन् र अन्य कैदी सरह उनको ‘मगशट’ लिइएको थिएन। अमेरिकी इतिहासमा नै कुनै राष्ट्रपति भइसकेका व्यक्तिमाथि फौजदारी अभियोगमा मुद्दाहरु चलिरहेको यो पहिलो घटना हो।
सीएनएनका अनुसार ट्रम्पले जेलमा २० मिनेट भन्दा केही बढी समय बिताएका थिए। प्रक्रिया पूरा गरेपछि उनलाई जमानतमा रिहा गरिएको थियो। ट्रम्प २ लाख डलर रकम जमानतका रुपमा राखेर रिहा भएका हुन्।
ट्रम्प जेलबाट बाहिरिएपछि प्रहरीले उनको ‘मगशट’ सार्वजनिक गरेको थियो। ट्रम्पमाथि अघिल्लो निर्वाचनमा धाँधली गरेको, चुनावी परिणाम उल्टाउन खोजेको सहित १३ अभियोग लगाइएका छन्। ट्रम्पले आफूमाथि लगाइएका सबै आरोपहरु राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताइरहेका छन्। सन् २०२४ मा ट्रम्पले फेरि राष्ट्रपतिको लागि उम्मेदवार बन्ने घोषणा गरि अभियान चलाइसकेका छन्।
जेलबाट फर्किएपछि ट्रम्पले आफूले कुनै गल्ती नगरेको प्रतिक्रिया दिएका थिए।