झाँक्री र राईको उदासिनताले दिएको सन्देशः माधव नेपालको राजनीति संकटमा !

मूलखबर संवाददाता
काठमाडौं

मूलखबर विश्लेषण।

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकले तत्कालीन नेकपा (एमाले) बाट आफूहरूले गरेको विद्रोहबाट देशको संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनको रक्षार्थ सहयोग पुगेको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले अहिलेसम्मका सबै घटनाक्रम र प्रवृत्तिबाट उक्त विद्रोहको औचित्य सावित भइसकेको ठहर गरेको हो । पार्टी स्थापनादेखि अहिलेसम्मका राजनीतिक विकासक्रम तथा त्यसमा पार्टीको भूमिकाबारे पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेको वैचारिक दृष्टिकोणमा केन्द्रित बैठकमा ४९ नेताले धारणा राखेका थिए ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आसन्न केन्द्रीय कमिटी बैठक र महाधिवेशनका तयारीबारे विशेष छलफल गरिएको बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति निर्माणका कार्ययोजनामा छलफल गरिएको थियो ।

देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र हाम्रो कार्यभार, राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल गरिएको थियो । पार्टीले यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्नेछ ।

संकटमा पर्दै माधव नेपाल

दुई वर्षअघि एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) प्रभावशाली नेताहरूको विद्रोहको सम्भावनाले झनै कमजोर बन्दै गएको देखिएको छ । २०७८ भदौ २ गते एमालेबाट चोइटिएर बनेको नेकपा (एस)का सचिवद्वय रामकुमारी झाँक्री र राजेन्द्र राईको असन्तुष्टिले पार्टीमा समस्या गहिरिँदै गएको देखाएको हो ।

गठबन्धनको बलमा १० सीट जितेर केही थान मन्त्री बन्नुबाहेक अन्य उपलब्धि नभएको भन्दै पार्टीमा तीव्र असन्तुष्टि छ । सोही कारण पार्टी छाडेर एमालेमा मिसिने लहर नै चलेको छ । पार्टी गठनमा महत्त्वपूर्ण योगदान र अग्रसरता देखाएका नेता नै पार्टी बैठकमा जान छाडेका छन् । ३५ बढी केन्द्रीय सदस्यको बहिर्गमन, २० जिल्ला नेतृत्वको पलायन र दैनिकजसो नेता कार्यकर्ता एमाले प्रवेशले नेकपा एसलाई चुनौतीको बिन्दुमा खडा गरेको हो ।

पार्टीको औचित्य पुष्टि नै गर्न नसकिएको भन्दै उनीहरू असन्तुष्ट रहेको बताइन्छ । विद्यार्थी राजनीतिबाट एमालेमा उदाएका यी दुई नेता लोकप्रिय र चर्चित अनुहार हुन् । राई त झन् कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन् । तर, पार्टीका गतिविधिसँग उनीहरू पछिल्लो एक वर्षयता असन्तुष्ट बन्दै आएका छन् ।

‘मैले अघिल्लो वर्षको असार १२ गते मन्त्री छाडें, तर त्यसयता मलाई पार्टीको पद छ, तर जिम्मेवारी छैन । वर्षको एकचोटी स्थायी कमिटी, पोलिटब्युरो केन्द्रीय कमिटी बैठक बस्छ’ झाँक्री भन्छिन्, ‘यहाँ महत्त्वपूर्ण र मुख्य विषयको निर्णय हुँदैन । सबै नीतिगत निर्णय सचिवालय बैठकले गर्ने भएपछि पार्टी संरचना र पद कामकाजी देखिएका छैनन् ।’

दुई वर्षसम्म विभाजनको औचित्य पुष्टि गर्न नसकेको र पार्टीलाई दिशा दिने कुनै कार्यक्रम ल्याउन नसकेको भन्दै झाँक्री असन्तुष्ट छिन् ।

‘एमाले राम्रो भएन, केपी ओली राम्रो हुनुभएन भन्दै फरक मत राखेर हामी नयाँ पार्टीको अभ्यासमा लाग्यौ‌ं, तर हामी पनि कसरी राम्रो भयौं त ? हामी फरक हौं भनेर देखाउन नसक्दा र आन्दोलन अलमलमा पर्दा विभिन्न तत्त्वले फाइदा लिएका छन्,’ झाँक्रीले भनिन्, ‘यो बीचमा न एजेन्डा प्रस्ट भयो, न त पार्टी विभाजनको औचित्य नै पुष्टि नै भयो । समाजवादी पार्टी राम्रोसँग चलाउन उहाँहरू सफल हुनुभएन ।’

कोशी नामले राईलाई विद्रोही बनाउँदै

८६ जना सांसदले कोशी नामको पक्षमा मत हाल्दा समाजवादीका ४ सांसदले विपक्षमा भोट हालेका थिए । तर, समाजवादीका सम्मानित नेता झलनाथ खनालले कोशी प्रदेश नै उपयुक्त नाम भएको र लाखौंको भावना समेटिएको भन्दै वक्तव्य जारी गरेपछि राईसहितका नेता असन्तुष्ट बन्दै आएका छन् ।

पार्टीले कोशी नाममा असझदारी राख्दै भोट नहाल्ने निर्णय गरेका बेला प्रभावशाली नेताले फरक मत राख्दै वक्तव्य जारी गरेपछि राई पार्टी नेतृत्वसँग समेत असन्तुष्ट बनेका हुन् । मुख्यतः पहिचान झल्कने गरी प्रदेश १ को नामाकरण नभएकोमा राई असन्तुष्ट छन् ।

पार्टीका नीति, सिद्धान्त र डकुमेन्टले पनि पहिचान झल्किने गरी नाम राख्न पटक–पटक निर्देश गरे पनि अध्यक्ष नेपालले आवश्यक दबाब बढाउन नसकेकोमा राई असन्तुष्ट छन् ।

पार्टीले धार नै देखाउन नसकेको भन्दै असन्तुष्ट रहेका राई पनि पार्टीका बैठकमा थोरैमात्रै उपस्थित हुन्छन् । कोशी प्रदेशका सांसद समेत रहेका राई पार्टीको जारी पोलिटब्युरो बैठकमा समेत सहभागी हुन आएनन् ।

एमाले विभाजनका बेला १० प्रभावशाली नेताले धोका दिँदा माधव नेपाललाई जुरुक्कै बोकेर रामकुमारी झाँक्री तथा राजेन्द्र राईहरूले नयाँ पार्टी गठनको माहोल बनाएका थिए । अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहितका नेताले साथ नदिँदा पनि विद्यार्थी राजनीतिबाट आएका यी दुई हस्तीले दरिलो साथ दिएका थिए ।

नयाँ पार्टी गठनका लागि निर्वाचन आयोग पुग्दा माधव नेपाललाई झाँक्रीले डोहोर्‍याएको तस्वीर भाइरल भएको थियो ।

तर, अहिले यी दुई नेता पार्टीप्रति असन्तुष्ट रहँदै आएका छन् । पार्टी सचिवको जिम्मेवारीमा रहेकाले खुलेर बाहिर नबोले पनि पार्टी गतिविधिमा उनीहरूको तीव्र असन्तुष्टि पाइन्छ । उनीहरूले अझै पनि पार्टीले कार्यशैली र एजेन्डा सुधार्छ कि भनेर निष्क्रिय भएर बाटो हेरिरहेको निकटस्थहरूसँग बताउने गरेका छन् ।

केही समयअघि बसेको समाजवादीको स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले १६ पृष्ठको प्रतिवेदन पेश गर्दै पार्टीको जनमत खुम्चिएको र निरीह देखिनुपरेको भन्दै नेतृत्वमाथि आक्रोश पोखे ।

‘पार्टीको जनमत खुम्चिँदै गयो । स्थानीय निर्वाचनमा पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावसम्म आउँदा ३ लाख पनि कटाउन नसक्ने दुःखद् अवस्था बन्यो,’ खनालले दस्तावेजमा भनेका छन्, ‘उपचुनावमा हाम्रो पार्टीले आफ्ना उमेदवारसम्म उठाउन सकेन । हाम्रो पार्टी निरीह र निष्क्रिय देखियो ।’