सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात : मल अभाव नहुने

मूलखबर संवाददाता
काठमाडौं

हाल सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात रहेको जनाएको छ । सरकारले रासायनिक मलकोे मौज्दात र वितरण प्रक्रियालाई प्रभावकारी बनाएकाले मलको अभाव नहुने मन्त्रालयले जनाएको छ । त्यसैले मलको मौज्दात र वितरण प्रक्रियालाई ध्यान दिइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रका अनुसार सरकारसँग अहिले ५३ हजार ९७७ टन मल मौज्दात छ ।

यस्तै मिश्रका अनुसार साल्ट ट्रेडिङ् कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडसँग अहिले उक्त परिमाणको मल मौज्दात रहेको हो । उहाँले भन्नुभयो, “साउन सकिन लाग्दा अझै १३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी छ । मलको माग अझै बढ्न सक्ने भएकाले मलको भण्डार र वितरणलाई व्यवस्थित बनाएका छौँ ।”

धानको भण्डारणको रुपमा हेरिने मधेश प्रदेशमा ३२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी नै रहेकाले मलको माग बढी हुने उहाँको भनाइ छ । साल्ट ट्रेडिङ् कर्पोरेसनसँग युरिया १० हजार ९७०, डीएपी १८ हजार २८५ र दुई हजार १७० मेट्रिक टन मल मौज्दात छ भने कृषि सामग्री कम्पनी लिमिटेडसँग युरिया १० हजार ९९४, डिएपी सात हजार २१२ र पोटास चार हजार ३४६ टन मल मौज्दात छ ।