प्रधानमन्त्री प्रचण्ड भदाै ३० देखि असाेज ८ सम्म अमेरिका र चिन भ्रमणमा रहने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर १६ देखि २५ सम्म अमेरिका र चिन भ्रमणमा रहनुहुने भएको छ । सम्पादकसँग बालुवाटारमा मंगलबार कुराकानी गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।
उहाँले आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट सेप्टेम्बर २१ तारिखमा चीन जाने जानकारी दिनुभएको हो । प्रचण्ड सेप्टेम्बर २५ मा स्वदेश फिर्ता हुने कार्यतालिका छ ।
यस पटक चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सहयोग सम्झौता हुने पनि उहाँले जानकरी दिनुभयो । चीनको बिआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उहाँले नेपालसँग भएको बिआरआई सम्झौताको कार्यान्वयन आयोजनाका बारेमा छलफल हुने र यस बिआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि उहाँले जानकरी दिनुभयो ।
चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने जानकारी प्रधानमन्त्री प्रचण्डले दिनुभयो ।
`चिन भ्रमणमा रसुवा प्रसारण लाइन, किमाथांका नाका सुचारू, केरूङ नाका सञ्चालन, कृषि परियोजनाबारे महत्त्वपूर्ण सम्झौता र सहमति हुनेछन्´- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।