अत्यधिक वर्षाले जनजीवन अस्तव्यस्त, आजबाट माैसममा सुधार आउँदै

मूलखबर संवाददाता
काठमाडौं

लगातारको वर्षाले देशैभरकाे जनजीवन अस्तव्यस्त भइरहेको बेला आजदेखि देशभर मौसममा क्रमिक सुधार हुने सम्भावना देखा परेकाे छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले आजबाट माैसममा क्रमिक सुधार हुने जनाएको छ।

तर काठमाडौं उपत्यकामा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहेपनि  जलवाष्पयुक्त वायु कम हुनाले आजदेखि  तुलनात्मक रूपमा मौसम सुधार हुँदै जानेछ।

‘हिजो अस्तिको जस्तो लगातार पानी परिरहने र धेरै भारी वर्षा हुने देखिँदैन,’उनले भनिन्।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ।