जनमत पार्टीलाई मन्त्री बनाउन संघीय मामिला मन्त्री माेदी फिर्ता गर्ने माओवादी केन्द्रकाे निर्णय

मूलखबर संवाददाता
काठमाडौं

जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्री मोदी फिर्ता भएसँगै जनमतबाट उक्त मन्त्रालयको जिम्मेवारी अनिता देवी साहले सम्हाल्न लागेकी छन् ।

मोदी मोरङ क्षेत्र नम्बर ४ बाट २०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघिको निर्वाच्नमा पनि उनी सांसद बनेका थिए । गत माघ ३ गते मोदी पहिलो पटक मन्त्री बनेका थिए।

माेदी सफल मन्त्रीकाे रूपमा मन्त्रालयबाट फिर्ता हुने भएका छन् । उनलेे कर्मचारी प्रशासनकाे क्षेत्रमा असल अभ्यासको थालनी गरेका थिए । उनले दुर्गममा काम गर्ने कर्मचारीलाई राेजेर सिंहदरबारका मन्त्रालयमा सरूवा गरिदिएका थिए भने सिंहदरबार र काठमाडौंका अफिसमा निरन्तर बसिरहेका कर्मचारीलाई उपत्यका बाहिरका कार्यलयमा सरूवा गरेका थिए । त्यसैगरी काज र दरबन्दी भएका स्थानमा नजाने कर्मचारीलाई कार्वाहीकाे शुरूवात गरेका थिए ।

माेदीले आफू जति दिन मन्त्रीकाे रूपमा रहेपनि ईतिहासमा नाम राख्ने गरि काम गर्ने प्रतिवद्वता व्यक्त गरेका उनलेे सम्झनेगरी कामकाे शुरूवात गरेका थिए ।