अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा सम्मेलनदेखि युथ वाकाथुनसम्म
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । अगष्ट १२ मा पर्ने युवा दिवसको अवसरमा नेपालका विभिन्न संघ संगठनहरुले विविध कार्यक्रम आयोजना गरेका हुन् ।
यसै सन्दर्भमा नेपाल युवा परिषद्ले अन्तर्राष्ट्रीय युवा दिवसको उपलक्ष्यमा श्रावण २५,२६ र २७ गते काठमाडौँमा ३ दिवसीय आवासिय राष्ट्रिय युवा सम्मेलन आयोजना गरेको छ । भने फोर एच नेपाल नामक संस्थाले युथ वाकाथुनको आयोजना गरेको छ ।
वाकाथुन साउन २६ गते माइतिघरदेखि बानेश्वरसम्म आयोजना गरिएको छ जसको उद्घाटन युवा खेलकुद मन्त्री डिक बहादुर लिम्वुले गर्दैछन भने सो कार्यक्रममा नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतम, नेकपा एमालेका सांसद सुर्यप्रसाद ढकाल, नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझी, नेकपा एसका सांसद भानुभक्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगी, जसपाको सांसद रेखा यादव, जनमत पार्टीबाट सांसद अनीता देवी र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
युवा सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले श्रावण २५ गते गर्ने छन् भने समापन श्रावण २६ गते उपसभामुख इन्दिरा राणामगरले गर्नेछिन् ।
युवाका लागि हरित दक्षता : दिगो भविष्यतर्फको यात्रा नामक अभियानसहित गर्न लागिएको सम्मेलनमा राज्यका उच्च पदस्थ राजनीतिज्ञ, युवा संसद, लब्दप्रतिष्ठित उद्यमी, युवा अभियन्तालगायतको व्यक्तित्वहरुद्वारा विभिन्न विषयवस्तुमा युवाको भुमिका र सरोकारवाला पक्षहरुले सम्वोधन गरिनेछ ।
सम्मेलनमा मुख्य गरी युवाको लागि दिगो विकास लक्ष्यहरु, जलवायु परिवर्तनको लागि पहल , लैंगिक समानता, युवा उद्यमशीलता, निर्वाचनना युवा र सुशासन गरी ६ वटा प्रमुख पक्षहरुमा विषयविज्ञहरुको प्रस्तुति तथा सहभागीहरूद्धारा अन्तरक्रिया र गहन छलफल गरिने छ ।
सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट १ जना पुरुष र १ जना महिला गरी १५४ जना र विशिष्ट लैङ्गिक अभिमुखिकरण तथा विशिष्ट क्षमता भएका ६६ जना युवाहरु गरी जम्मा २२० जनाले सहभागिता जनाउने छन् ।