ढुक्क हुनुस्, भ्रष्टाचार र तस्करीविरूद्वकाे कार्वाही राेकिँदैन : प्रधानमन्त्री प्रचण्ड
सरकारले शुरू गरेकाे र अत्यन्तै तिब्रतामा अगाडि बढिरहेको भ्रष्टाचार र तस्करीविरूद्वकाे अभियान कति अगाडि जाला भनेर जनमानसमा चासाे बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताउनुभएको छ ।
आइतबार समाजवादी मोर्चामा आबद्ध पार्टी निकटका विद्यार्थी सङ्गठनहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र तस्करीकाविरुद्ध जेहाद छेड्ने क्रम नरोकिने बताउनुभएको हो ।
उहाँले सरकारले भ्रष्टाचार, तस्करी, राज्यको सम्पत्ति दोहन, शोषण र बेथितिहरूका विरुद्धमा जेहाद छेडिरहेको बताउनुभयो । यहाँले सरकारको यो कदम निरन्तर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनमा भ्रष्टाचारका अरू फाइलहरू पनि खुल्दै जाने बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकारले थालेको यस लडाइमा आम जनताको पनि साथ आवश्यक भएको भन्दै साथ दिन आग्रह पनि गर्नुभयो ।