प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता : भ्रमणबाट प्रधानमन्त्री उत्साहित
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड गत साउन ६ गते इटाली प्रस्थान गर्नुभएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनुभएको थियो । सोहि अबबसरमा प्रधानमन्त्री प्रचण्डले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गर्नुभएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भने भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो ।
रोममा रहँदा प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभयो । भ्रमणका दौरान प्रधानमन्त्री दाहालले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उहाँका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी हुनुहुन्थ्यो ।