एमालेले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने !
प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठकले अवैध सुन आयात प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।
बैठकपछि एमालेका एक नेताले भने, ‘सशक्त ढंगले अगाडि बढ्ने, सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको छ । तथ्यगत रिपोर्ट के हो जवाफ माग्ने नै मुख्य निर्णय हो ।’
सुन तस्करी प्रकरणमा जोडिएको भन्सार गृहमन्त्रालयको कार्यक्षत्र नपर्ने कुरालार्य वास्ता नगरी एमालेले सो निर्णय गरेकोमा उचित नहुने विश्लेषकहरुले बताएका छन् ।
एमाले नेता रघुजी पन्तले एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक-पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुुपर्ने बताए ।
कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने आफ्नो पार्टीको निर्णय भएको उनले जानकारी दिए ।
गृहमन्त्रीको जवाफ कस्तो आउँछ त्यस आधारमा एमालेले थप कदम चाल्ने पनि उनले बताए ।