त्रिभुवन विमानस्थलबाट बाहिरिएको १ क्विन्टल सुन बरामद, २ पक्राउ
नेपाल सुन तस्करहरूकाे अखडा बन्दै गरेको भन्ने समाचार आइरहेको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ ।
राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।
सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्ट घोषणा गरेर सुनका ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको र त्यसको तौल यकिन हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गरिएकाे हाे । राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली खुलेको छ ।
करिब एक अर्ब रुपैयाँ मूल्य बराबरको सुन रेडी ट्रेड प्राइभेट लिमिटेडले स्कुटरको ब्रेक शुभित्र राखेर ल्याएको पाइएको हो ।
प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक-पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार र दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो । सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरी स्रोतले बतायो । साे प्रकरणमा भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ ।