प्रेस सेन्टर नेपालद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली पत्र हस्तान्तरण
आज प्रेस सेन्टर नेपाल केन्द्रीय समितिकाे तर्फबाट सम्माननिय प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि जीवनसंगिनि तथा नेकपा माओवादी केन्द्रीय सल्लाहकार सीता दाहालकाे असामयिक निधनप्रनि दुख व्यक्त गर्दै श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जसगल, उपाध्यक्ष निर्मल ज्ञवाली, विदुर खड्का, गंगा बराल, रूवि श्रेष्ठ, दिपेन्द्र रावल लगायतका उपाध्यक्षहरू, महासचिव सन्तोष पाैडेल, उपमहासचिव रामकृष्ण अधिकारी, सचिवहरू, केन्द्रीय सदस्यहरू सम्मिलित टाेलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर श्रद्धाञ्जली र समवेदना पत्र हस्तान्तरण गरिएको हाे ।
श्रद्धाञ्जली पत्रमा सीता दाहालले प्रेस सेन्टर नेपाल स्थापनामासमेत भुमिका खेलेकाे उल्लेख गर्दै उनकाे निधनले प्रेस सेन्टरले असल अभिभावक गुमाएको बताइएको छ । पत्रमा सीता दाहालले नेपालकाे परिवर्तन र शान्ति प्रक्रिया पुर्णताकाे लागि पनि महत्त्वपूर्ण भुमिका खेलेकाे उल्लेख गर्दै उनको निधनले वामपन्थी आन्दोलनमा अपुरणिय क्षति पुगेको बताइएको छ ।
पत्रमा सीता दाहालले प्रचण्डको राजनीतिक सारथीकाे भुमिका खेलेकाे, पार्टीको टुटफुट र विभाजनमा एकताको पक्षमा सन्तुलित र निर्णायक भुमिका खेलेकाे बताइएको छ ।
पत्रकाे पुर्ण पाठ-
हार्दिक श्रद्धाञ्जली एवम् समवेदना
सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सदस्य सीता दाहालको २०८० असार २७ गते बिहान भएको असामयिक र दुखःद निधनले प्रेस सेन्टर नेपाललाई स्तब्ध तुल्याएको छ ।
वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी र २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध आदरणीय आमा सीता दाहालले अध्यक्ष प्रचण्डकाे राजनीतिक सारथि, पार्टीको मुख्य र असल अभिभावक तथा राष्ट्रकै एक निर्विवाद व्यक्तिकाे रूपमा भुमिका निर्वाह गर्नुभएको थियाे ।
पञ्चायती कालरात्रीदेखि जनयुद्धकाे भिषण र घनिभुत वर्ग संघर्षमा निरन्तर वर्ग, पार्टी र क्रान्तिकारी आन्दोलनकाे पक्षमा सतिसाल झै उभिँदै पार्टीका टुटफुट र विभाजनमा सधैं एकताको पक्षमा सन्तुलित भुमिका खेल्नुहुने उहाँको निधनले सिंगाे वामपन्थी आन्दोलनले अपुरणीय क्षति ब्यहाेरेकाे छ ।
क्रान्तिकारी पत्रकार संघ गठनमा समेत महत्त्वपूर्ण भुमिका खेल्नुभएकाे उहाँको निधनले हामीले असल अभिभावक गुमाएका छाैं । उहाँले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै उहाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकूल सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड लगायत सिंगो परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछाैं ।