मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने : मन्त्री किराँती
मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मङ्गलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताउनुभएको हो ।
मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँच जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ । मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधबारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गरिने बताउनुभयो । उहाँले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ, हाम्रो पहिलो सर्त सुरक्षा हो । हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलीसम्ममा गठन हुन्छ ।’’