समाजवादी माेर्चाकाे पहिलाे बैठक : सरकारकाे कदम सहि छ, एमालेकाे असंसदीय चरित्र
समाजवादी माेर्चाले पहिलो बैठक सम्पन्न गरेको छ । नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कार्यालयमा शनिबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भएको बैठकले सरकारले भ्रष्टाचारविरूद्व र सुशासनको पक्षमा चालेको कदम सहि भएको निष्कर्ष निकालेकाे छ ।
बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा देखाएकाे रबैया अराजनीतिक चरित्रको रहेकाे पनि मुल्यांकन गरेको छ । संसदमा एमालेले अचानक र विनाकारण प्रधानमन्त्रीकाे राजिनामा माग्नु नाजायज रहेको पनि निष्कर्ष निकालेकाे छ ।
त्यसैगरी बैठकले माेर्चाकाे नेतृत्व ६/६ महिनामा आलाेपालाे गर्ने निर्णय गर्नुका साथै सातै प्रदेश राजधानीमा विशेष कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
बैठकले एमालेले प्रधानमन्त्रीकाे राजिनामा मागेर आफैं फँसेकाे विश्लेषण गरेकाे सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयाे । उहाँलेे एमालेले स्पष्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गर्नुभएको छ ।
शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । एमालेले प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उहाँको दाबी थियो । उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिनु नपर्ने निर्णय लिएको समेत स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘एमालेले असंसदीय, गैर संसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नु पथ्र्यों । संसदमा माग गर्ने विषय हुन्थ्यो । राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग क्लियरीफिकेशन माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’’
एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।