यस्तो छ आजकाे माैसम: मधेस, लुम्बिनी र सुदुरपश्चिममा भारी वर्षाकाे सम्भावना
आज असार २० गते, देशैभर असारमा धान राेपाईकाे चटाराे छ । काठमाडौंलगायत कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको र लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती पनि देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
भोलि र पर्सी पनि मनसुनी वायुको प्रभाव कायमै रहने भएकोले देशभर सामान्यदेखि मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने र कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरी पनि आउने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा र तराईका थोरै स्थानहरूमा हावा हुरी आउन सक्ने भएकोले सडकमा यात्रा गर्दा, खेतबारीमा काम गर्दा वा अन्य समयमा चट्याङ्ग ,गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।