उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता
छेन्दु (चीन), १३ असार जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।
दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकाहरुमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । यस्तै चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढङ्गबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ । दुवै पक्षबीच प्राकृतिक प्रकोप एवं विपद्को सामना गर्न मिलेर अगाडि बढ्ने समझदारी जुटेको छ ।