आज २०८०/८१ काे बजेट पारित गरिँदै, यस्तो छ तयारी

मूलखबर संवाददाता
काठमाडौं, १३ असार

आर्थिक वर्ष २०८०/८१काे बजेट आज पारित हुने भएको छ । गत जेठ १५ गते प्रतिनिधिसभाकाे बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको १७ खरब ५१ अरबकाे बजेट करिब एक महिनाकाे छलफलपछि आज संसदबाट पनरित गर्न लागिएको हाे ।

१६ दिनसम्म भएको छलफलमा भाग लिने सांसदहरूले बजेटबारे आलोचना र समर्थन जनाएका थिए । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाले बजेटमा रचनात्मक आलाेचना गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेले बजेटविरूद्व धारणा राख्दै आएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ठाेस धारणा राखेको छैन । उसले गुण र दाेषकाे आधारमा बजेटमा धारणा राखेको थियाे ।  सांसदहरूले राखेको बजेटमाथिकाे धारणापछि  सरकारले आज बहुमतका आधारमा पारित गर्ने तयारी गरेको छ ।

बजेटको पक्षमा मतदान गर्न सत्तारूढ दल कांग्रेस र माओवादीले ह्वीप नै जारी गरिसकेका छन् । सरकारले संसद्‌मा जेठ १५ मा बजेटसम्बन्धी विधेयक पेस गरेपछि २१ देखि असार १० सम्म छलफल भयो । बजेट सन्तुलित नभएको भन्दै सत्तारूढ एकीकृत समाजवादीका बाराका सांसद कृष्णकुमार श्रेष्ठले जेठ २६ को बैठकमा मौन धारण नै गरे । बजेटमा मधेश, मधेशी र मधेशमा बसोबास गर्नेहरूमाथि अपमान गरेको भन्दै उनले रोस्ट्रममै मौन धारणा गरेका थिए ।

सरकारका प्रमुख घटक कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि बजेट संशोधन हुनुपर्ने माग राखे । सरकारले ल्याएको विधेयकको दफावार छलफल गरेर सच्याउने अधिकार संसद्लाई हुन्छ । जुन अधिकार प्रयोग गर्नै नपाई सरकारले विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । यसअघिकाे नजिर हेर्दा बजेट शंसाेधन भएको रेकर्ड छैन ।