मिटरव्याजी विरूद्व देशभरबाट २१ हजार नौ सय ७५ उजुरी दर्ता

मूलखबर संवाददाता
काठमाडौं, २५ जेठ

मिटरब्याजमा ऋण लगाएर सर्वसाधारणको उठीवास लगाउने साहुकारविरुद्ध देशभरबाट २१ हजार नौ सय ७५ उजुरी परेका छन्  । पीडितको उजुरी लिन र छानबिन गर्न बनेको मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी जाँचबुझ आयोगमा १७ वैशाखदेखि १४ जेठसम्म परेका उजुरीमाथि छानबिन भइरहेको छ ।

जनकपुरधाममा कार्यालय रहेको आयोगमा सबैभन्दा धेरै मधेसबाट १७ हजार आठ सय ५६ उजुरी परेका छन् । सबैभन्दा कम कर्णालीबाट सातवटा उजुरी मात्र परेका छन् । त्यस्तै, लुम्बिनीबाट तीन हजार १२, कोसीबाट तीन सय ७७, बागमतीबाट तीन सय ३४, सुदूरपश्चिमबाट दुई सय ४९ र गण्डकीबाट एक सय ४० उजुरी परेको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)पीडित सहायता कक्ष स्थापना गरेर उजुरी लिइएको हो । जाहेरीमाथि अध्ययन र छानबिनको काम सुरु भएको उनले बताए ।

‘ऋण लिँदा जग्गा रजिस्ट्रेसन पास गराएर साँवा र ब्याज तिर्दा पनि जग्गा नफर्काएको देखिन्छ,’ उनले भने, ‘ऋण लिँदा साहुले गरिबसँग बैंकको खाली चेक लिए । पछि बाउन्स गराएर समस्यामा परिदिएको पनि उजुरी आएको छ ।’ छोरीको विवाहका लागि साहुसँग २४ हजार ऋण लिएकोमा झुक्याएर पीडितसँग दुई लाख ४० हजारको कपाली तमसुक गराएका उजुरी पनि आयोगमा परेका छन् । बैंक तथा सहकारीबाट ऋण उपलब्धता सहज नहुँदा मिटरब्याजमा फस्नेको संख्या बढेको छ ।

आयोगका सदस्य उत्तमराज सुवेदीले कानुनविपरीत चर्को ब्याज लिने कसैले उन्मुक्ति नपाउने बताए । वैदेशिक रोजगारीमा जानकै लागि पनि मिटरब्याजको जालोमा फस्नेको संख्या अत्यधिक पाइएको उनको भनाइ छ । ‘वैदेशिक रोजगारीमा जानेलाई आवश्यक कार्यविधि बनाई सरकारीस्तरबाटै ऋण सुविधा दिन सके पनि धेरै हदसम्म यो समस्या समाधान हुनेछ,’ उनले भने ।

मिटरब्याजबाट पीडितहरू गत चैतमा काठमाडौं पुगेर आन्दोलन गरेपछि सरकार र आन्दोलनरत पक्षबीच पाँचबुँद सहमति भएको थियो । सोहीअनुसार विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबहादुर अर्याल रहेको आयोग गठन गरेको थियो । आयोगलाई ठोस र मूर्त रूपमा मिटरब्याजपीडितको समस्या पहिचान गर्न र वास्तविक पीडितको आधिकारिक आँकडा तत्कालै ल्याउने गरी अधिकार दिइएको छ । आयोगलाई तीन महिनाको समयावधि निर्धारण गरिएको छ । याे खबर नयाँ पत्रिकामा प्रकाशित छ ।