तारागाउँ विकास समिति विघटन गर्ने संस्कृति मन्त्री किराँतीको चेतावनी

मूलखबर संवाददाता
काठमाडौं, ६ बैसाख

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तारागाउँ विकास समिति विगटन गर्ने चेतावनी दिनुभएको छ  ।  तारागाउँ रिजेन्सी होटल (होटल हायात)सँग भएको सम्झौता रद्द गर्ने चेतावनी दिनुभएको छ । तारागाउँ विकास समितिलाई २२ वटा र तारागाउँ रिजेन्सी होटललाई पठाएका २७ वटा प्रश्नको जवाफ तीन दिनभित्र पठाउन निर्देशन दिँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले तारागाउँ रिजेन्सी होटल लिमिटेड निर्माणको परियोजना लागत योजनाबद्ध तरिकाले बढाइएको र तारागाउँ विकास समिति तथा सर्राफ आईसीटीसी समूहबीचमा एक अर्ब ५० करोड रुपियाँ लागतको सहमति भए पनि दोब्बर बढी अर्थात् तीन अर्ब ४३ करोड रुपियाँ खर्च गरिएको पाइएकोबारे जवाफ पेस गर्न निर्देशन दिनुभएको छ ।

उहाँले पत्रमा प्रतिप्रश्न गर्नुभएको छ, “संयुक्त लगानी सम्झौता र समझदारीपत्रविपरीत होटल परियोजना लागत अत्यधिक मात्रामा वृद्धि गर्नाको कारण के हो रु घाटामा गएको बेला पनि कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकलाई ३८ करोड १२ लाख रुपियाँसम्म भुक्तानी गरेको देखियो । भारी नोक्सानीमा सञ्चालनमा रहेको अवस्थामा कम्पनीबाट अस्वाभाविक रूपमा ठूलो धनराशि पारिश्रमिकका रूपमा भुक्तानी लिनुको कारण के हो रु”

उहाँले मन्त्रालयले खर्च पुष्टि गर्ने बिल बीजक तथा कागजातसमेत पेस नगरी ठूलो खर्च लेखाङ्कन गरेकोमा पनि प्रश्न उठाउनुभएको छ । कम्पनीले व्यवसायसँग असम्बन्धित खर्चलाई पुष्टि गर्ने बिल बीजक तथा कागजातसमेत पेस नगरी ठूलो रकम खर्च लेखाङ्कन गरेको देखिएको उल्लेख गर्दै पर्यटनमन्त्री किरातीले प्रमाणित गर्न र पुष्टि हुन नसक्ने खर्च लेखाङ्कन गर्नाको कारण के हो र यस्तो खर्च सम्बन्धित पदाधिकारीबाट असुलउपर किन नगर्ने भनी प्रश्न गर्नुभएको छ ।

उहाँले यस्ता नबाँधिएका आम्दानी के कति छन् र यस्ता आम्दानी सम्बन्धितबाट असुलउपर नगर्नुपर्ने कारण के हो भनेरसमेत प्रश्न गर्नुभएको छ । कम्पनीले विभिन्न आर्थिक वर्षमा तेस्रो पक्षलाई भुक्तानी गर्दा स्रोतमा कर कट्टी नगरी भुक्तानी गरेको र भुक्तानी प्राप्त गर्ने तेस्रो पक्षले तिर्नुपर्ने उक्त अग्रिम कर कट््टीबापतको खर्च तीन करोड २४ लाख रुपियाँ के कति कारणबाट खर्च लेखाङ्कन गरेको हो, उक्त अग्रिम कर कट्टीबापतको रकम सम्बन्धित पदाधिकारीबाट असुलउपर गर्नुपर्छ वा पर्दैन प्रस्ट पार्न मन्त्री किरातीले निर्देशन दिनुभएको छ ।