सहज छैन सहुलियतपूर्ण कर्जा : किन भयाे असहज ?

मूलखबर संवाददाता
काठमाडौं

चार वर्षअघि स्वदेशी सेनेटरी प्याड उद्योग सञ्चालन गर्ने र आयात कम गर्ने योजना सुनाउँदा जो कोहीले गजब भनेर हौस्याउँथे गोमा खनाललाई तर अहिले उद्योगमा लागिसकेपछि अरू त अरू बैङ्कले ऋणसमेत दिन मान्दैनन् ।

सहयोगी ट्रेड सप्लायर्स अनि रोयल विङ्स ब्रान्डको सेनेटरी प्याड उद्योगमा अहिलेसम्म करिब एक करोड रुपियाँ लगानी गरिसक्नुभएकी खनाल सरकारले महिला उद्यमीका लागि अनेक योजना ल्याए पनि सबै कागजमा मात्रै सीमित भएको गुनासो गर्नुहुन्छ ।

वैदेशिक रोजगारीबाट फर्केर उद्योग सुरु गरेकी उद्योगी खनाल भन्नुहुन्छ, “सरकारले महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने नीतिगत व्यवस्था गरेको छ । विदेशबाट फर्केकाका लागि पनि छुट्टै व्यवस्था गरेको छ तर यी कुनै सुविधाबाट हामी वञ्चित भइयो ।”

यस्तै गुनासो छ एक दशकअघिदेखि सञ्चालनमा रहेको आर्जन फुटवेयरकी सञ्चालक लक्ष्मी अधिकारीको । उद्योग सञ्चालनका क्रममा यस्तो सुविधा टाढाको विषय भएको उहाँको अनुभव छ । महालक्ष्मी अचार उद्योगकी सञ्चालक लक्ष्मीदेवी नेपालको पनि उही हो गुनासो । स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारसम्म अचारको माग छ तर आवश्यक लगानीकै अभावमा खुम्चिनु परेको उहाँको गुनासो छ । करिब दुई दशकदेखि यो क्षेत्रमा लाग्नुभएकी नेपाल महिला उद्यमी कर्जा पाइन्छ कि भनेर निकै कोसिस गर्दा पनि नपाएको बताउनुहुन्छ । उहाँको भनाइ छ, “यत्तिकै सहुलियत कर्जा पाइन्छजस्तो लागेन, कोसिस गर्नै छाडिदिएँ ।”

नीतिगत रूपमा सरकारले अनेक योजना र कार्यक्रम ल्याए पनि सरोकारवाला उद्यमीका लागि कागलाई बेल पाकेजस्तो मात्रै भएको गुनासो छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवाल महिला उद्यमीको प्रमुख समस्याका रूपमा वित्तीय पहुँच र लगानी अभाव नै रहेको बताउनुहुन्छ ।- गाेरखापत्रबाट