एकै व्यक्तिलाई एक भन्दा वढि लघुवित्तले ऋण दिन नपाउने, कर्मचारीलाई पनि कडाई

मूलखबर संवाददाता
काठमाडौं, ११ फागुन

लघुवित्त संस्थाको ऋण्का कारण नागरिकहरु उठिबास लागेको खबरहरु आउन थालेपछि राष्ट्र बैकले नयाँ नियम ल्याउन लागेको छ ।

राष्ट्र बैंकले एकै व्यक्तिलाई अब एकभन्दा बढी लघुवित्त संस्थाले ऋण लगानी गर्न नपाउने गरी नियम बनाएको हो । केही समयदेखि लघुवित्तको समस्या लगातार सञ्चार माध्यमहरुमा सर्वजनीक भइरहेको छ । धेरै लघुवित्तबाट ऋण लिएकै कारण ऋणीको उठीबास लागेको निष्कर्ष राष्ट्र बैंकको रहेको जनाइएको छ ।

बुधबार राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै यसअघि बढी संस्थाबाट लिएको ऋण पनि तोकिएको समयमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । ‘बिनाधितो सामूहिक जमानीमा वा धितोमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्तले सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्नेछ,’ संशोधित निर्देशनमा भनिएको छ । यसअघि ऋणीले एकभन्दा बढी संस्थाबाट ऋण लिन पाउँथे तर एउटै संस्था वा एकभन्दा बढीबाट गरी बिनाधितो ७ लाख र स्थिर सम्पत्ति धितोमा १५ लाखसम्म रुपैयाँको सीमा तोकिएको थियो ।

कर्जा प्रदान गर्ने अधिकतम सीमा राष्ट्र बैंकले तोके पनि धेरै लघुवित्तले सीमाभन्दा बढी ऋण प्रदान गर्दै आएका थिए । सुरुमा विभिन्न प्रलोभन देखाएर ऋण दिने र पछि असुलीमा जबर्जस्ती गर्ने लघुवित्त संस्थाको बेथितिका कारण साना ऋणी मर्कामा परेका छन् ।

अब लघुवित्तले नयाँ कर्मचारीलाई कम्तीमा दुई साताको अभिमुखीकरण तालिम दिएर मात्र काममा खटाउनुपर्नेछ । कर्मचारीबाट ऋणीलाई गर्ने व्यवहार राम्रो नभएको निष्कर्षका आधारमा तालिमपछि मात्र काममा लगाउनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘संस्थाले कर्मचारीलाई लघुवित्त कारोबारसँग सम्बन्धित तालिम प्रत्येक दुई वर्षमा कम्तीमा एकपटक प्रदान गर्नुपर्नेछ,’ निर्देशनमा छ, ‘संस्थामा दक्ष जनशक्ति विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीलाई बैंक प्रवेश गरेको एक महिनाभित्र कम्तीमा दुई साताको अभिमुखीकरण तालिम प्रदान गर्नॅपर्नेछ ।’

संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शीर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावलीलगायतका विवरण आफ्नो वेबसाइटमा अर्धवार्षिक रूपमा अद्यावधिक गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।