आज सभामुखकाे निर्वाचन: एमालेका घिमिरे र कांग्रेसकी न्याैपाने प्रतिस्पर्धामा
प्रतिनिधिसभाकाे सभामुख चयनका लागि आज माघ ५ गते प्रतिनिधि सभामा निर्वाचन हुँदैछ ।
सभामुख पदमा मनोनयन दर्ताका लागि बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिइएको समयमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए।
संघीय संसद सचिवालयले बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्ने जनाएको छ ।
सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत दलहरूको समर्थनमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन्, उनीहरूबीच सभामुखका लागि बिहीबार प्रतिनिधि सभामा प्रतिस्पर्धा हुनेछ।
अहिले सभामुख नभएका बेला ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गरिरहेका छन्।
बिहीबार प्रतिनिधि सभाबाट सभामुख र माघ ७ गते उपसभामुख चयन गर्ने तयारी छ।
एमालेका सांसद घिमिरेलाई एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलहरूको साथ छ। प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ जना सांसद छन्। सत्ता साझेदार अन्य दलहरूले पनि घिमिरेलाई साथ दिने सम्भावना छ।
कांग्रेसका ८९ सांसद भए पनि ८८ जनाले मात्र मतदान गर्न पाउँछन्। नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन्। जसपा पनि समर्थनमा आएमा उसको १२ जना सांसद छन् भने लोसपाको ४ जना सांसद छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ।