इलाम १ मा पुर्व प्रधानमन्त्री खनालद्वारा मतगणना बहिष्कार, एमालेका बस्नेत विजयी

मूलखबर संवाददाता
काठमाडौं, १२ मंसिर

इलाम–१ बाट नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले धाँधली भएको भन्दै मतगणना बहिष्कार गरेका छन् ।  जारी मतगणनामा  खनाललाई पराजित गर्दै  नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत विजयी भएकाे परिणाम आएकाे छ ।  पूर्वप्रधानमन्त्री  खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित भएका हुन् ।  बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गरेका छन् भने खनालले २३ हजार ८८ मत पाएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिएका छन् । तर यसबारे आधिकारिक घाेषणा भने भएको छैन । खनालले मत परिणाम बारे असन्तुष्टि व्यक्त गर्दै पुन मतगणनाकाे माग गरेका छन् । उनलेे भनेका छन्-  इलाम १ को गणनामा सुरुदेखि नै रहस्यमय र धाँधलीपूर्ण गतिविधि भए । मतगणना अधिकृतले एकैपटक विभिन्न पालिकाका ३२ वटा बाकस घोप्ट्याउन लगाएछन् । त्यो अवैज्ञानिक थियो । किन यसो गरेछन् भनेर मैले कारण खोजें । पाँच सय मत गायब पारेछन् ।  त्यसपछि यहाँभित्र अनियमितता छ भन्ने प्रष्ट भएपछि गन्ने प्रक्रियामा कमजोरी भएको थाहा भयो । मेथर्ड बेठिक छ, कर्मचारीमाथि पनि आशंका भो । सबै आँकडा ठिक हुँदाहुँदै पनि मत कसरी गायब भयो ? यसको जवाफ नपाउँदासम्म हामी गणनामा सहभागी हुँदैनौं भनेका हौं ।