
इरानमा जेलमा आगलागी : आठ जनाको मृत्यु,६१ जना घाइते
तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको सङ्ख्या आठ पुगेको जनाइएको छ । यस कारागार आगलागीमा परी शुरुमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको थियो ।
‘इभिन कारागारको वार्डका केही कैदीहरूबीच शनिबार राति भएको झडप र आगलागीपछि सो दुर्घटना भएको हो । विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए ।
घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो । प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो । अस्पताल भर्ना गरिएका घाइतेहरु चार जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या आठ पुगेको जनाइएको छ ।
