डेंगु संक्रमित साढे २७ हजार, ३६ जनाको मृत्यु, सरकारी चासो कम

मूलखबर संवाददाता
काठमाडौं, १४ असोज ।

देशभर डेंगुको प्रकोप लगातार बढिरहँदासमेत यसको नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा नपरेको गुनासो बढिरहेको छ । साउन महिना यता डेंगु संक्रमित संख्या साढे २७ हजार नाघ्दासमेत केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो नदेखाएका हुन् ।

साउन महिना यतामात्रै डेंगुका कारण ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित दर घट्दै गएकोमा राहत महसुस गर्न नपाउँदै डेंगु संक्रमण दरले जनमानसमा त्रास सिर्जना गरिरहेको छ । डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणमा तीनै तहका सरकारले ध्यान नदिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी बताउँछन् ।

पछिल्ला १० दिनको आंकडालाई केलाउँदा दैनिक डेंगु संक्रमितको दर दैनिक एक हजार जनाभन्दा बढी छ । दैनिक एक हजारको हाराहारीमा डेंगु संक्रमित हुँदा कोरोनाभाइरस कोभिड–१९ संक्रमित भने दैनिक ३८ देखि ९० जनासम्म पाइएको छ ।

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणलाई जति प्राथमिकता दिएको छ, दैनिक हजारौँ जना डेंगु संक्रमित हुँदासमेत डेंगु नियन्त्रणलाई भने त्यति प्राथमिकता दिएको छैन । सरकारले अझै पनि डेंगुको तुलनामा कोरोनालाई प्राथमिकता दिएको जनस्वास्थ्य विज्ञहरु सुनाउँछन् । जबसम्म १५ डिग्री सेल्सियस तापक्रम हुँदैन, तबसम्म डेंगुका बिरामी देखिरहने विज्ञहरुको भनाइ छ ।

अब तीनै तहका सरकार सक्रिय रुपमा डेंगु नियन्त्रणका लागि लाग्नुपर्ने इपिडिमियालेजी तथा रोग नियन्त्रणका पूर्व निर्देशक डा। जीडी ठाकुरले पनि बताए । उनी भन्छन्, ‘सुरुवाती चरणमा डेंगु देखिएको स्थानमा नियन्त्रणमा नलाग्दा घरघरमा डेंगुको संक्रमण पुगेको छ ।’

डेंगु रोकथामका लागि दीर्घकालीन कार्यक्रम जरुरी

पूर्वनिर्देशक डा।मरासिनीले जाडो सुरु भएपछि क्रमशः डेंगुका बिरामी कम हुँदै जाने बताए । तर त्यसपछि टाउको हलुको भयो भनेर सम्बन्धित निकाय बस्न नहुने उनको भनाइ छ । दीर्घकालीन ठोस योजना नहुँदा वर्तमान स्थिति सिर्जना भएको उल्लेख गर्दै उनले नेपालमा डेंगु फैलन नदिन दीर्घकालीन योजना बनाएर प्राथमिकताका साथ अगाडि बढ्नुपर्ने बताए ।

‘रातिराति आवाज निकालेर टोक्ने लामखुट्टेले मलेरियामा मात्रै सार्छ । त्यो लामखुट्टे घरभित्र औषधि छर्किदियो भने मर्छ,’ उनले भने, ‘भित्तामा बस्ने बित्तिकै मर्छ तर एडिस जातको लामखुट्टेको व्यवहार फरक भएकाले समस्या सिर्जना भएको हो । घरबाहिर बाहिर डेंगु सार्ने लामखुट्टेले टोक्ने गर्छ । डेंगु सार्ने लामखुट्टेले बग्ने पानीमा फुल पार्दैन, जमेको पानीमा फुल पार्छ ।’

अहिले डेंगु संक्रमण यसरी ह्वात्तै बढ्नु भनेको अर्को वर्ष डेंगु संक्रमण झन् भयावह हुने संकेत भएको डा।मरासिनी बताउँछन् । तराईतिर अझै केही महिनासम्म लामखुट्टे देखिने र पहाडी तथा हिमाली क्षेत्रमा बिहान र साँझ सताउने उनले बताए ।

सरकारले अझै एक महिना डेंगुलाई महामारीको रुपमा घोषणा गरेर विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । सक्रिय रुपमा डेंगु नियन्त्रणका लागि लाग्नुपर्ने उनको भनाइ छ ।