
टाट पल्टिएको श्रीलङ्कामा बढ्न थाल्यो रेमिटेन्स
श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताएका छन् ।
उनले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिएका छन् ।
वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको उनले बताए । गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको छ ।
रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद दिदै उनले देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष आभार प्रकट गरेका छन् ।
गएको वर्षदेखि आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरुको संख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी व्यक्तिले वैदेशिक रोजगारीका लागि विदेशिएका पाइएको बताइएको छ ।
