इन्जीनियर नै छाडेर स्वतन्त्र वडाध्यक्ष उमेदवारमा भगवान, चितीमा विश्वराज, के छन् एजेण्डा ?

मूलखबर संवाददाता
काठमाडौं

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दल र उमेदवारहरु दलीय चुनाव चिन्ह लिएर मतदाताको घरघरमा पुगिरहेका छन् । बहुदलीय व्यवस्थामा दल नै मुख्य चुनावी शक्ति र जनताले पत्याएका संरचना हुन् । तर यस पटकको निर्वाचनमा दलबाहेक स्वतन्त्र ढंगले उमेदवारी दिनेको संख्या पनि कम छैन । काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिकालगायतका महानगरपालिका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका मात्रै होइन वडाहरुमा समेत स्वतन्त्र उमेदवारी दिनेहरुको प्रचार सामाजिक सञ्जालमा देख्न थालिएको छ ।

त्यसैक्रममा लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नं २ साविकको अर्चलबोट गाविसमा पनि एक युवा वडाध्यक्षको लागि स्वतन्त्र उमेदवारी दिएर मैदानमा आएका छन् । पेशाले इन्जीनियर रहेका भगवान कुँवर पेशा नै थाति राखेर स्थानीय सत्ता सम्हाल्न लालायित देखिन्छन् । विद्यालय पढ्दाका मेधावि छात्रका रुपमा स्थापित भगवान कुँवर विगत केही वर्षदेखि निरन्तर समाजसेवामा पनि सक्रिय छन् । स्थानिय स्तरमा खोलिएको कृषि सहकारीको अध्यक्ष भएर काम गरिरहेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा चलिरहँदा उनी भने दलभन्दा माथि उठेर समाज सेवाको उद्धेश्यले नै वडाध्यक्षमा उमेदवारी दिएको दावी गर्छन् । उमेदवारी दिने दिनसम्म पनि नेकपा माओवादी केन्द्रका सदस्य रहेका उनी गठबन्धनले पुरानै उमेदवारलाई दोहोर्याएपछि वडाको विकासमा अग्रगमन आउन नसक्ने निश्कर्षसहित स्वतन्त्रमा उमेदवार बनेको बताउँद्धन् ।

कुँवर स्थानिय स्तरमै गर्न सक्ने थुप्रै कामहरु आफू विजयी भएमा गरेर देखाउने बाचा गर्छन । प्राविधिक र व्यवसायीक शिक्षा, वडामा स्तरयि अस्पताल, गाउँगाउँमा स्वास्थ्य सेवा केन्द्र, कालोपत्रे सडक, कृषिमा यान्त्रीकीकरण र बजारको व्यवस्था, युवाहरुलाई स्वरोजगार र उचीत रोजगारी, सहकारीमार्फत सबैलाई उत्पादनमा जोड्ने र सुसासन सहितको भ्रष्टाचारमुक्त वडा बनाउने संकल्प उनको छ । आफ्नो एजेण्डा र भिजनबाट अधिकांश मतदाता प्रभावित भएकाले आफ्नो विजय हुने कुरामा कँवर ढुक्क छन् ।

त्यसैगरी बेसिसहर नगरपालिका वडा नं ११ चितिमा अर्का युवा पनि स्वतन्त्र रुपमा वडाध्यक्षको दौडमा निस्किीएका छन् । चितीका स्थायी वासिन्दा विश्वज्योति पन्त दलभन्दा बाहिरबाट स्वतन्त्र उमेदवारी दिएको बताउँछन् । विशेष गरी निशुल्क शिक्षाको व्ववहारिक कार्यान्वयनको विषयलाई निर्वाचनको मुख्य एजेण्डा बनाएका पन्तले शिक्षा, स्वास्थ्य, खानेपानी, आवश्यकताको आधारमा बजेट वितरण, सामुहिक व्यवसायीक कृषि उद्यम, उत्पादनको बजार ग्यारेन्टी, स्थानिय श्रोत साधनको उपयोग गरी अधिकतम रोजगारी, शुसासनका एजेण्डालाई पनि आफ्नो चुनावी एजेण्डा बनाएर विजयी भएमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले गुलाप चिन्ह प्राप्त गरेका छन् । एक्लै चुनावी प्रचार अभियानमा हिँडिरहेका पन्त आफ्नो उमेदवारी विकास र समृद्धिको लागि र चितिको पहिचान स्थापित गर्नको लागि भएको बताउँदै आफ्नो पक्षमा माहौल बन्दै गएको दावी गर्छन् ।

स्थानिय सत्तामा चरम भ्रष्टाचार भएको र आर्थिक उपार्जनको लागि दलका नेताहरुमा सत्तामोह बढेको आरोप लगाउँदै स्वतन्त्र उमेदवारी दिएका र आफू भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाएका यी युवाहरुको उमेदवारी समाजसेवा हो की सत्तामोह हो भन्ने परिक्षाको नतीजा निर्वाचनमा विजय प्राप्त गरे भने पछि देखाउने क्रियाकलापले देखाउनेछ ।