माओवादी केन्द्र एक्लैले २ सय स्थानिय तह जित्न सक्छ : अनन्त

मूलखबर संवाददाता
काठमाडौं

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तिमा दुई सय पालिकामा प्रमुख जित्ने बताउनुभएको छ ।

आज पार्टी सम्बद्ध प्रेस सेन्टर नेपालको उपत्यका प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले विनागठबन्धन कम्तिमा दुई सय तह जितेर माओवादी वामपन्थी दलहरुमा पहिलो पार्टी हुने बताउनुभयो ।

छ हजार सात सय ४३ वटै वडाको मत विश्लेषणको प्रारम्भिक रिपोर्ट सुनाउँदै नेता पुनले केही शहरी इलाकामा बाहेक गत स्थानीय तह निर्वाचनमाभन्दा माओवादीको अवस्था सबैतिर सुदृढ रहेको जानकारी दिनुभएको हो । चुनावी तयारीका क्रममा देशभरबाट प्राप्त रिपोर्टका आधारमा माओवादीले यसअघि दोस्रो भएका ७४ स्थानमा सजिलै जित्ने अवस्था देखिएको पनि उहाँले सुनाउनुभयो ।

गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रले एसक सय १६ वटा पालिका र १३ सयबढी वडा जितेको थियो । माओवादी सांगठनिक हिसाबले सबैभन्दा कमजोर भएको भनिएका बेला प्राप्त उक्त नतिजा यसपटक बढ्ने नेता पुनको भनाइ छ ।

२०७४ सालको चुनावमा माओवादीसँग जम्मा तीन लाख पार्टी सदस्य रहेकोमा अहिले बढेर आठ लाख पुगेकाले दुई सय पालिका जित्न माओवादीलाई कुनै पार्टीसँग गठबन्धन गर्नु आवश्यक नपर्ने पनि नेता पुनको दाबी छ । यद्यपि गठबन्धन हुँदा सिट संख्या बढ्ने भएकाले आफूहरु गठबन्धनको पक्षमा उभिएको पनि उहाँले प्रष्ट्याउनु भयो ।

नेता पुनले बाहिर चर्चा गरेजस्तो नेकपा एमाले पहिलो पार्टी हुने अवस्थामा नरहेको रिपोर्ट एमालेकै नेताहरुबाट सुनेको पनि बताउनुभयो । एमालेको हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि जम्मा एक सय ६० तह जितिने लिखित रिपोर्ट आएको आफूहरुले जानकारी पाएको पनि उहाँको भनाइ छ ।

सो क्रममा उहाँले मुलुक माओवादीकै एजेण्डामा अघि बढेको तर, गणितीय रुपमा भने केही कमजोर भएको स्वीकार गर्नुभयो । ’जसको नीति उसैको नेतृत्व हुनुपथ्र्यो, त्यसो हुन सकेको छैन । यसमा हाम्रो पनि केही कमजोरी रहे । खासगरी पार्टी सञ्चालनमा हामीले युद्धकालीन शैली अपनाउँदा सोसोलाइज हुन सकेनौं । यो बीचमा हामीले आफूलाई धेरै नै परिमार्जन गरेका छौं । अब जनताको मत लिएर हाम्रो नीति र हाम्रै नेतृत्व स्थापित गर्छौं,’ नेता पुनको भनाइ छ ।

पार्टीले गरेका कामको व्यवस्थित प्रचार गर्न र एमाले अध्यक्ष केपी शर्मा ओलीका अराजनीतिक टिप्पणीहरुको भण्डाफोर गर्न उहाँले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुलाई निर्देशन पनि दिनुभयो ।