तराईमा शितलहर : कष्टकर जीवन, के छ राज्यकाे याेजना ?
पुस अन्तिममा बढेको शीतलहरले तरार्ईको जनजीवन कष्टकर बनेको छ। शीत र सिरेटो छेक्ने घर र न्याना लुगा नभएकालाई पुस–माघको जाडो कटाउन सकसपूर्ण छ।
प्रदेश १ को राजधानी विराटनगर–१६ मुसहरी टोलका ७० वर्षीय रमानन्द ऋषिदेवलाई जाडोयाम आयो कि ज्यान नबच्ला कि भन्ने चिन्ताले सताउँछ। टाटीबेराले बनाइएको घर पनि भत्किन लागेको छ। छानोबाट शीत चुहिन्छ। सिरेटो सिधै घरभित्र छिर्छ। जीर्ण घरमा ६ जनाको परिवार बस्नुपर्ने बाध्यता छ। उनको नाममा केही पनि जायजेथा छैन। ऐलानी जग्गामा बनाएको झुप्रो घर नै सबैथोक हो। ‘लगलग काम्दै समय बिताउनु परिरहेको छ। घर भरपर्दो र सुरक्षित छैन’, उनले भने, ‘न शरीरभरि न्यानो कपडा नै लगाउन सकिएको छ। गरिबीको पीडामाथि सहनै नसक्ने चिसोले सताइरहेको छ।’
रमानन्दको घर गत कात्तिकमा आएको बेमौसमी बाढीको चपेटामा परेको थियो। त्यसपछि झन् जीर्ण बन्यो। घर मर्मत गर्न नपाउँदै कठ्यांग्रिने चिसोले छोप्योे। पानी र हावा पनि नछेक्ने घरमा बसेर दैनिकी चलाउन कष्टकर भएकोे उनको गुनासो छ।
‘मजदुरी गरेर जीविका चलाउँछौं’, उनले भने, ‘कोरोनाका कारण मजदुरीको बाटो नै बन्द हुने अवस्था आइरहँदा चिसोको पीडा पनि थपिएको छ।’
चिसोले गर्दा बालबालिका र वृद्धवृद्धाको त झन् कन्तबिजोक छ। सुत्केरी भएकाको समस्या कल्पना गर्नै गाह्रो छ। विराटनगरकै पुष्पा ऋषिदेव एक महिनाकी सुत्केरी हुन्। दिन–प्रतिदिन चिसो बढ्दै जाँदा नवजात शिशुको स्याहारमा समस्या छ।
‘जाडोबाट जोगाउन पर्याप्त कपडा छैन। बच्चाको बिजोक भयो’, उनले भनिन्, ‘परिवारको आर्थिक अवस्था दयनीय छ। छाक टार्नै समस्या भइरहेका बेला न्यानो कपडा किनेर लगाउने पैसा छैन।’
चिसोले विपन्न समुदायमासमस्या थपिएको छ। रुपन्देहीका सुकुम्बासी बस्तीमा बस्नेहरू चिसोले आजित भएका छन्। ‘चिसो भएपछि आगो बालेर रात काट्छौं। ओढ्ने कपडा छैन’, सीमाबगरकी अमृता दर्जीले भनिन्। उनको परिवारका ५ सदस्य सानो झुपडीमा बस्छन्। मजदुरी गरेर गुजारा चलाउने उनको परिवारमा जाडो छेक्ने कपडा छैनन्।
चिकित्सकहरूले कोरोना संक्रमण बढिरहेका बेला चिसोले झन् समस्या निम्त्याउने चेतावनी दिएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकले कोरोना र चिसो दुवैबाट बच्नुको विकल्प नभएको बताए। कोरोना संक्रमित मात्रै नभई चिसोले वृद्ध, बालबालिकामा निमोनिया हुन सक्ने चेतावनी उनको छ।
लुम्बिनी प्रदेशमा यो वर्ष मात्रै चिसोबाट बच्ने क्रममा आधा दर्जनको ज्यान गएको छ। सडकपेटीमा मृत्युवरण गर्नेको संख्या बढेको छ। रुपन्देही, नवलपरासी, दाङमा सडकपेटीमै आधा दर्जन बेवारिसे मृत्यु भएको छ। नेपालगन्जमा हिटर जलाएर सुत्ने क्रममा अक्सिजन अभाव भई चार जनाको ज्यान गएको थियो। चिकित्सकले भेन्टिलेसन भएको स्थानमा मात्रै हिटर उपयुक्त हुने तर चालू अवस्थामै राखेर सुत्न नहुने सुझाव दिएका छन्।
बाक्लो हुस्सु र सिरेटोसँगै चलेको शीतलहरका कारण प्रदेश १, मधेस, लुम्बिनीलगायत तरार्ईको जनजीवन अत्यन्तै कष्टकर छ। कोरोना महामारी जारी रहेका बेला चिसो अत्यधिक बढ्दा जनजीवन नराम्ररी प्रभावित भएको हो। बढ्दो चिसोले जनजीवनलाई असर गरिरहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले बताए। उनका अनुसार बुधबार विराटनगरको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको छ। ‘पश्चिमी वायुसँगै शीतलहर चल्दा चिसो अत्यधिक बढ्यो,’ देउजाले भने, ‘मौसममा सुधार हुन अझै १ साता समय लाग्ने अनुमान छ।’ मौसम चिसिएर तापक्रममा गिरावट आउने क्रम जारी रहेकाले ज्यान बचाउने उपायको खोजी सर्वसाधारणका लागि उत्तम विकल्प हुने उनको भनाइ छ।
न्यानो कपडाको जोहो गर्दै सरकार
शीतलहरले तराईका नागरिक कठ्यांग्रिएका बेला सरकार भने न्यानो कपडा वितरणको तयारी मात्रै देखिएको छ। तीनै तहको समन्वयमा केही रकम छुट्याएर कम्बलललगायत कपडा वितरणको तयारी रहेको गृह मन्त्रालयका कर्मचारी बताउँछन्।
‘संघीय सरकारले निर्णय गरेर शीतलहरपीडितलाई राहतलगायतका व्यवस्थापन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई दिएको छ’, विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीपकुमार कोइरालाले भने। प्रदेश सरकारले केही रकम स्थानीय तहलाई दिने, स्थानीय तहले केही रकम छुट्याएर न्यानो कपडा किनेर वितरण गर्ने काम भइरहेको कोइरालाको भनाइ छ।
शीतलहरबाट मृत्यु भए अरू विपद्कै बेलाजस्तो राहत रकम उपलब्ध गराउने व्यवस्था सरकारले गरेको छ। तर, शीतलहरबाटै मृत्यु भएको प्रमाणित चिकित्सकले गरेको हुनुपर्ने सहसचिव कोइरालाले बताए। उनका अनुसार शीतलहरबाट मृत्यु भएको विवरण चार वर्षयता प्राप्त भएको छैन। ‘मेडिकल्ली प्रमाणित गर्नुपर्ने व्यवस्था भएपछि यो डाटा आएको छैन’, उनले भने, ‘चिसोका कारणले मृत्यु होला। तर, शीतलहरबाट मृत्यु भएको भन्ने आएको छैन।’
शीतलहर बढ्दै गएकाले तराईका जिल्लाको चोकचोकमा दाउरा वितरण व्यवस्था गरिएको उनको भनाइ छ। जिल्ला वन कार्यालयमार्फत चोकचोकमा दाउरा व्यवस्थापन गर्ने निर्देशन दिएको उनले बताए। प्रत्येक जिल्लाको विपद् व्यवस्थापन कोषमा कम्तीमा ७ लाख रकम हुनुपर्ने व्यवस्था पनि सरकारले गरेको छ। ७ लाखबाट रकम घटे तत्काल मन्त्रालयमा जानकारी गराएपछि उपलब्ध गराउने व्यवस्था गरिएको छ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा प्रमुख खुमानन्द आचार्यले शीतलहरबाट नागरिकलाई जोगाउन सतर्क रहन निर्देशन दिइएको बताए। उनका अनुसार मन्त्रिपरिषद्बाटै सचेतना, राहत लगायतका विषयमा निर्णय गरेर जिल्ला जिल्लामा परिपत्र गरिएको छ।
– अन्नपूर्ण