नेतृत्व गर्न चाहनेले जनताको आवाजलाई सुन्न सक्नुपर्छ : चिनियाँ राष्ट्रपति सी

मूलखबर संवाददाता
काठमाडौं, २३ असार ।

चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङले राजनीतिक दलहरुले नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न जनताको आवाजलाई सुन्नु पर्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १ सय वार्षिकोत्सवको अवसरमा विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा मंगलबार भिडियामार्फत सम्बोधन गर्दै सीले विभिन्न देशका राजनीतिक दलहरुलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्नुपर्ने बताएका हुन् ।

उनले विभिन्न देशहरूलाई मानवजातीको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा बढाउन आह्वान पनि गरेका छन् । सन् १९२१ मा स्थापना भएको सीपीसीको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा ‘जनताका लागि सुखमय जीवन सिर्जना गर्नु नै राजनीतिक पार्टीको कार्यभार’ भन्ने विषयक सम्मेलनमा सीले सम्बोधन गरेका हुन् ।

सीले राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनु पर्ने उल्लेख गरे । साथै, मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गरी समस्त मानव जातिको साझा मूल्यलाई स्वदेशका जनताको हितलाई व्यवहारमा उतार्ने अभ्यासमा पुर्‍याउनुपर्ने सीले बताएका थिए ।

उनले विभिन्न मुलुकबीचको इतिहास, संस्कृति, प्रणाली, विकास स्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रता समेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य रहेको बताए ।

सीले विकास विश्वका केही मुलुकहरुको विशेष अधिकार नभएको उल्लेख गर्दै राजनीतिक पार्टीले विभिन्न मुलुकबीचको सहयोगलाई मजबुत बनाउँदै जानुपर्ने बताए । उनले भने,‘विश्व विकासको निष्पक्षता, प्रभावकारिता, र तालमेललाई उकास्नुपर्छ । साथै, प्रविधिले नाकाबन्दी, वैज्ञानिक प्रविधिको अन्तर, विकासबाट अलग्याउने कुरामा संयुक्त विरोध गर्नुपर्छ ।’ सीले राजनीतिक दलहरूले सहकार्यलाई सुदृढ पार्ने जिम्मेवारी वहन र विश्वव्यापी जोखिम र चुनौतीहरू सामना गर्न मिलेर काम गर्नु पर्ने बताए ।
उक्त सम्मेलनमा भर्चुअल माध्यमबाट नेपालसहित विश्वभरका १६० भन्दा बढी मुलुक र ५०० भन्दा बढी राजनीतिक पार्टी तथा राजनीतिक संगठनका नेताहरुको उपस्थिती रहेको थियो । यस्तै, १० हजारभन्दा बढी राजनीतिज्ञहरुले उक्त सम्मेलनमा भाग लिएका थिए ।

उनले सम्बोधनको क्रममा नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा विभिन्न देशका राजनीतिक दलहरूले सहकार्यमा गर्नुपर्ने र महामारीको राजनीतिकरणको विरोध गर्नुपर्ने बताए । उनले मानव स्वास्थ्य समुदायको निर्माणलाई संयुक्त रुपमा अघि बढाउनुपर्ने भन्दै आतंकवाद लगायत अन्य क्षेत्रमा मानव जातिको शत्रुको सामनामा राजनीतिक दलहरूले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए । ‘प्रजातन्त्रका विभिन्न तरिका छन् तर एकै मात्र होइन भन्दै एक देशमा प्रजातन्त्र छ कि छैन भन्ने कुरा सो मुलुकका जनताले मूल्यांकन गर्नुपर्छ,’ उनले भने । उनले कुनै मानिसले निश्चित गर्नु हुँदैन भन्ने कुरामा जोड दिए ।

सीले चीन सधैं नै विकासोम्मुख मुलुकमध्ये एक भएको र निरन्तर रुपमा अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणालीमा विकासोन्मुख मुलुकको प्रतिनिधित्व र आवाज अधिकारलाई उकास्न प्रयास गरिरहने बताए ।

सीले आधुनिकीकरणको लागि कुनै निश्चित मोडेल नभएको उल्लेख गरे । ‘आफ्नो लागि सबैभन्दा उपयुक्त छ भने त्यो राम्रो छ । स्वतन्त्र रूपमा आधुनिकीकरणको मार्ग पत्ता लगाउन प्रत्येक देशको प्रयासलाई सम्मान गर्नु पर्छ,’ उनले भने ।