सहमतिकाे म्याद सकियाे, उखु किसानले २२ कराेड अझैसम्म पाएनन्

मूलखबर संवाददाता
काठमाडौं

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चिनी उद्योगीसँगको रायपछि २१ दिनभित्र उखु किसानको बक्यौता असुली गरिदिने समझदारी कार्यान्वयन गर्न चुकेको छ । मन्त्रालय र उखु किसानबीच भएको सम्झौताअनुसार सोमबारसम्म ६६ करोड रुपैयाँ बक्यौता उठ्नुपर्ने हो । तर, साँझसम्म करिब ४४ करोड रुपैयाँ मात्रै बक्यौता उठेको छ ।

उद्योग मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार ४३ करोड ९७ लाख रुपैयाँ उठेर थप रकमसमेत सरकारी नियन्त्रणमा आएको छ । उखु किसानका संरक्षक राकेश मिश्रले किसानको पैसा केही उठेर बाँकी रकम सरकारी नियन्त्रणमा रहेको जानकारी आएको बताए । ‘सरकारले तोकेको समयभित्र रकम  उठाइदिन सकेन । यद्यपि, उठाउनुपर्ने रकम उद्योगीबाट जफत गरेर राखिएको छ भन्ने कुरा उद्योग मन्त्रालयले भनेको छ,’ मिश्रले भने, ‘तर, त्यसको भरपर्दो प्रमाण केही पाएका छैनौँ । अहिलेसम्म कति किसानले रकम पाएको हो भन्ने विवरणसमेत दिइएको छैन ।’

समयमा पैसा उठाउन नसकेको सरकारी अधिकारीको गतिविधिबाट किसानहरूले असन्तुष्टि देखाएका छन् । ‘हामीले थप पैसा कहिलेसम्म आउँछ भन्दा रकम पाउन बाँकी रहेका किसानको लगत दिनुस् भनेर सरकारी अधिकारीले भन्न थालेका छन् । लाखौँ किसानको लगत हामी कहाँबाट ल्याउन सक्छौँ ?’ मिश्रले भने, ‘सरकारले नै वडादेखिका संरचना प्रयोग गरेर रकम पाउन बाँकी किसानको लगत संकलन गर्नुपर्नेमा हामीलाई देखाएर पन्छिन खोजेको छ ।’नयाँ पत्रिकामा खबर छ ।