नेपालमा काेराेनाकाे नयाँ प्रजाती : नेपालमा परीक्षण सम्भव छ त ?
नेपालमा तीनजनामा कोरोना भाइरसको यूके भेरिएन्ट (बी.१.१.७) भेटिएको औपचारिक रुपमा पुष्टि भएपनि जनस्तरमा यसको परीक्षणका लागि यथोचित तयारी भने गरिएको छैन । पुसको पहिलो साता बेलायतबाट फर्किएका तीन जनामा बी.१.१.७ कोरोना भाइरसको संक्रमण रहे/नरहेको पुष्टि गर्नका लागि उनीहरुबाट लिइएका स्वाब नमुना हङकङ पठाउनु परेको थियो ।
सामान्य रुपमा यो नयाँ भेरिएन्ट पत्ता लगाउन कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिको पीसीआर परीक्षण गर्दा भाइरसका अन्य जीनका साथै मुख्य रुपमा एस–जिनलाई पनि लक्षित गरेर परीक्षण गर्न आवश्यक हुन्छ । यदी अन्य जीन पोजिटिभ तर एस–जीन निगेटिभ देखिएमा भने बी.१.१.७ भेरिएन्ट भएको आशंका गरिन्छ । यसको पुष्टि नै गर्नका लागि भने जिनोम सिक्वेन्सिङ नै गर्नुपर्ने हुन्छ ।
बेलायतबाट फर्किएका ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरूको नमुनामा एस–जीनलाई लक्षित गरी एनपीएचएलमा पीसीआर परीक्षण गरिएको थियो । सो परीक्षणमा ३ जनाको नमुनामा एस–जीन निगेटिभ रहेको पाइएको थियो । त्यसपछि भने ३ जनामा यूके भेरिएन्ट हुनसक्ने आशंका गर्दै नमुना हङकङ पठाउने तारतम्य मिलाइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा पठाइएको ३ वटै नमुना अनुवांशिक परिवर्तन देखिएको कोरोनाभाइरसको बी.१.१.७ भेरिएन्ट देखिएको जानकारी गराएको हो । विज्ञप्ती अनुसार पुस २७ गते हङकङ प्रयोगशाला पठाइएको नमुनाको रिपोर्ट माघ ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)को ईमेलमा प्राप्त भएको हो ।
के नेपालमा परीक्षण सम्भव छ ?
नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा एस–जीनलाई लक्षित गरी परीक्षण गर्न सम्भव नभएको भने होइन । तर, आजको दिनमा यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्रै सम्भव छ । हाल देशभरमा गरेर कूल ८२ प्रयोगशालाहरुमा कोरोना भाइरसको पीसीआर परीक्षण हुने भएपनि सम्भवतः एनपीएचएलमा मात्रै यो सुविधा उपलब्ध छ ।
प्रयोगशालाकी निर्देशक डा. रुणा झा भने यूके भेरिएन्ट नेपालमा भेटिए पनि आत्तिनुपर्ने अवस्था नरहेको तर्क गर्छिन् । उनका अनुसार एनपीएचएलमा कोरोना भाइरस परीक्षण गर्ने रिएजेन्टहरुमा एस–जीन परीक्षण गर्ने रिएजेन्ट पनि रहेकोले परीक्षण सम्भव भएको थियो । ‘हामीले परीक्षण गर्दा ३ वटा जिन डिटेक्ट गर्ने रिएजेन्ट प्रयोग गरिराखेको हो । सामान्तया कोभिड पोजिटिभमा ३ वटै जीन नेगेटिभ/पोजिटिभ आउँछ,’ उनले भनिन्, ‘एस–जिन नेगेटिभ आएपछि जिन स्क्वेन्सिङ गर्दा नयाँ भेरिएन्ट भेटिएको हो । भाइरसमा अनुवांशिक परिवर्तन भएकोले रिएजेन्टले जिन डिटेक्ट नगरेको हो ।’
उनका अनुसार एस–जिन परीक्षण गर्ने भनेर अतालिनु पर्दैन । ‘युके भेरिएन्ट, ब्राजिल भेरिएन्ट, नेपाली भेरिएन्ट सबै छ होला । पत्ता लागेर के हुन्छ ? जुनसुकै नयाँ भेरिएन्ट आएपनि आखिर हामीले अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड भनेको हात धुने, मास्क लगाउने, दुरी कायम गर्ने नै हुन्,’ उनले भनिन्, ‘यो आरएनए भाइरस हो । यसमा अनुवांशिक परिवर्तन भइरहन्छ । यो कुरामा धेरै टाउको दुखाइ भएन । सावधानी अपनाउनुपर्यो ।’
डा. झाका अनुसार नेपालमा विश्वका सबै ठाउँबाट मानिसहरु आइरहेकाले सबै स्थानका भाइरस घुलमिल भइराखेको हुनसक्छ । त्यसको चिकित्सकीय रुपमा संक्रमित पहिचान गर्न खासै कुनै भूमिका पनि नदेखिएको उनले बताइन् । ‘जे सावधानी लिनुपर्छ त्यही त हो अपनाउनुपर्ने । यो त थप बढी जान्नका लागि मात्र परीक्षण गरिएको हो । जिनोम सिक्वेन्सिङ सधैं गरिरहनुपर्ने परीक्षण पनि होइन,’ उनले भनिन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा त्यहाँ ई–जिन, आरडीआरपी–जिन, एन–जीन, ओआरएफ१–जिन, एस–जिनलाई लक्षित गरी परीक्षण गर्ने गरिन्छ । ‘अब यो नयाँ प्रजातिको भाइरस कस्तो छ भने अरु जिन पोजिटिभ आउँछ तर एस जिन चाहिँ नेगेटिभ आउने रहेछ । यूकेबाट आएकामा धेरै जनामा एस जिन पोजिटिभ आएपनि ३ जनामा एस जिन नेगेटिभ आएको थियो,’ उनले भने ।
नाम उल्लेख नगर्ने सर्तमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नजिक रहेर काम गरिरहेका एक विज्ञका अनुसार नेपालमा हाललाई एनपीएचएल बाहेक अन्य प्रयोगशालामा एस–जिनको परीक्षण सुरु गर्नका लागि कठिन छ । उनका अनुसार एस–जीन परीक्षण गर्नका लागि अहिले पीसीआर परीक्षण गर्नका लागि प्रयोग भइरहेका सबै मेसिनमा सम्भव नै छैन । ‘प्राय सबैले एस–जीनको रिएजेन्ट प्राप्त भए परीक्षण गर्न मिल्न भनेर सोचेका छन् । तर, त्यो त्यति सजिलो छैन । एस–जीन परीक्षण गर्ने मेसिन र रिएजेन्ट दुवै फरक छन् ।’
यद्यपि उनी पनि सबै भेरिएन्टका लागि परीक्षण हुनुपर्छ भन्ने पक्षमा भने छैनन् । ‘पहिलो कुरा त सबै भेरिएन्ट छ या छैन भनेर परीक्षण गर्न जरुरी नै छैन । संक्रमणको शंका लागेका सबैको परीक्षण हुनुपर्छ र उनीहरुलाई आइसोलेट गर्नु नै सबैभन्दा उचित हो,’ उनले भने, ‘पत्ता लागेका संक्रमितहरुबाट र्याण्डमली भाइरसमा आनुवांशिक परिवर्तन भएको छ या छैन भनेर चाँही अध्ययन गर्न सकिन्छ ।’
यस्तै मन्त्रालयका साहयक प्रवक्ता एवं स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईका प्रमुख डा. समिरकुमार अधिकारीका अनुसार अब विदेशबाट आउने जो कोहीलाई पनि क्वारेन्टाइनमा राखेर निगरानी गर्नुको विकल्प नभएको प्रतिक्रिया दिए । ‘पहिलो कुरा त संक्रमण फैलन नदिन सबैले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्नैपर्छ । सँगै हामीले यूके भेरिएन्ट नै हो या होइन भनेर परीक्षण गर्नका लागि आवश्यक पर्ने रिएजेन्टको पनि व्यवस्था गर्दै छौं,’ उनले भने, ‘केही प्रयोगशालामा अहिले नै पनि रिएजेन्ट उपलब्ध छन् भने केहीमा मेसिन छन् । नभए पनि रिएजेन्ट ल्याए परीक्षण गर्न सम्भव हुन्छ ।’
इन्टरपिड डायग्नोस्टिक सेन्टरका व्यापार प्रवर्द्धन निर्देशक सम्भावित श्रेष्ठका अनुसार नेपालका प्रयोगशालाहरुमा तत्कालै एस–जिनलाई लक्षित गरेर परीक्षण गर्न सम्भव छैन । ‘एस–जिन टेस्टका लागि नेपालमा किट नै आएको छैन । टेस्ट गर्न सकिन्छ तर किट आइपुगेको छैन,’ उनले भने, ‘जिन सिक्वेन्सिङ गरेर पत्ता लगाउने हो । जसको एउटै टेस्टको लागि लाखौँ रुपैयाँ पर्छ । सरकारले सहयोग तथा पहल गरेमा परीक्षणका लागि सामाग्री ल्याउन सकिन्छ ।’ यस्तै, ह्याम्स अस्पतालका निर्देशक ज्योतिन्द्र शर्माका अनुसार पनि सो अस्पतालको प्रयोगशालामा एस–जिन परीक्षण गर्ने प्रविधि छैन ।
कान्तिपुरले सम्पर्क गरेका सबै निजी प्रयोगशालाका संचालक तथा त्यहाँ आवद्ध विज्ञहरुले एस–जीनलाई लक्षित गरेर परीक्षण गर्ने प्रविधि हाललाई आफूहरु कहाँ उपलब्ध नभएको जानकारी दिए । ‘यो परीक्षण सम्भवत एनपीएचलमा मात्र छ । हामीले परीक्षण गर्दा केही आशंका लागेमा नमूना उतै पठाउँछौं । यो परीक्षण हामीकहाँ उपलब्ध छैन,’ सुरिया हेल्थ केयरका म्यानेजर प्रमोद यादवले भने ।
यस्तै डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरका जेनेटिक साइन्टिस्ट बलराम गौतमले पनि हालमा उक्त सेन्टरमा एस–जीन परीक्षण गर्न नसकिने बताए । ‘अहिले यो परीक्षण छैन । अबको लटमा भने हामी किट मगाउँदैछौँ,’ उनले भने ।
अनुवांशिक परिवर्तन देखिएको कोरोनाभाइरसको बी.१.१.७ भेरिएन्ट विश्वका ३ दर्जन बढी देशमा देखिइसकेको छ । पब्लिक हेल्थ ईंग्ल्याण्डले गरेको पछिल्लो अनुसन्धानमा कोरोनाभाइरसको यो भेरिएन्टले अन्यभन्दा ३० देखि ५० प्रतिशतसम्म बढी संक्रमण गराउने क्षमता राख्दछ । यो भाइरसबाट संक्रमित भएकाहरूमा सामान्य भाइरसको संक्रमण हुँदाभन्दा निकै धेरै भाइरल लोड हुने समेत केही अध्ययनहरुमा देखिएको छ । -कान्तिपुरबाट