
खरिद प्रक्रियामा औषधी लिमिटेड समावेश नहुँदा औषधी खरिद रोकियो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधी लिमिटेड खरिद प्रक्रियामा समावेश नभएका कारणले औषधी खरिद रोकिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधी खरिद प्रक्रिया अगाडि नबढाउँदा औषधी लिमिटेडले औषधी उत्पादन बन्द गरेको विषयलाई खण्डन गर्नुभएको हो । उहाँले सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेन्डर प्रक्रियाहरूमा सहभागी भई कागजातहरू पूरा भएको खण्डमा लिमिटेडले नै टेन्डर पाउने बताउँदै यो किराना पसलबाट सामान किनेजस्तो नभएको टिप्पणी गर्नुभयो ।
प्रवक्ता डा. बुढाथोकीले औषधी लिमिटेडले जिटुजी (सरकारी टु सरकारी) काम गर्नका लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुहुँदै वर्षभरी कुनै पनि औषधीको उत्पादन नरोकिने विश्वास दिलाउनुपर्ने बताउनुभयो । टेन्डर प्रक्रियामा नजाने र विजनेस प्लान पनि देखाउने जस्ता कामले मन्त्रालयलाई विश्वास नलागेको जिकिर गर्नुभयो ।
नेपाल औषधी लिमिटेडले व्यावसायिक प्लान बनाएर उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बजेटको पनि सुनिश्चितता हुने मुख्यमन्त्री लगायतको बैठकमा छलफल भएको बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै उहाँले अर्थ मन्त्रालयमा औषधी लिमिटेडले पेस गरेको एमओयू स्वीकृत नभएको समेत बताउनुभयो ।
नेपाल औषधी लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ । कच्चा पदार्थको ठुलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधी खरिद नगरेपछि बजारमा बिक्री ठप्प हुँदा उत्पादन नै बन्द गर्नुपरेको औषधी लिमिटेडले जनाएको छ ।