
सिरिया मिसनबाट फर्किएका सैनिकमाथि छानबिन सुरु
सिरिया मिसनबाट फर्किएका सैनिकमाथि छानबिन सुरु गरेको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनाका लागि सिरियामा खटिएको टोलीका कम्तिमा ३० सैनिक अधिकारी नेपाली सेनाको छानबिनमा परेका हुन् । सिरियामा जारी तनावकाबीच स्थानीय समूहले हतियार खोसेका कारण टोली फर्किएलगत्तै नेपाली सेनाको जंगीअड्डाले छानबिन थालेको हो । सैनिक प्रवक्ता गौरवकुमार केसीको भनाइमा हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी भएको हो या होइन भन्ने हिसाबले छानबिन गरेको हो ।
‘हालसम्म आन्तरिक छानबिन मात्र भइरहेको विषय हो, झण्डै ३० जनामाथि सोधपुछ र बयान लिने काम भएको छ’, उनले भने, ‘उनीहरूलाई साधपुछ गर्दै छाडिएको छ ।’ तर, जंगीअड्डा स्रोतका अनुसार, मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित कम्तिमा ४ अधिकारी अझै जंगीअड्डाको सैनिक प्रहरी गणको नियन्त्रणमा छन् ।
खड्का नेतृत्वमा रहेको १९७ शान्ति सैनिकको टोली दुई साताअघि स्वदेश फर्किएको थियो । सैनिक प्रहरी गण सैनिक अधिकारीहरूले गरेको अपराधको अनुसन्धान गर्ने निकाय हो । गणको नियन्त्रणमा राखेर अहिले सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर उनीहरूमाथि छानबिन गरिरहेको छ । खड्का नेतृत्वमा रहेको १९७ शान्ति सैनिकको टोली दुई साताअघि स्वदेश फर्किएको थियो ।
सिरियामा जारी तनावका बीच उनीहरूले समय सकिएपछि समेत झण्डै ६ महिना काम गर्न पाएका थिए । खड्का नेतृत्वको टोली फर्किएलगत्तै प्रमुख सेनानी रविजंग खड्का नेतृत्वमा २०२ जनाको टोली सोही दिन मिसन इलाकातर्फ गइसकेको छ ।
हाल सिरियाको मिसनमा सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुबाट गरेर जम्मा ४४८ सैनिक खटिएका छन् ।
मिसनबाट फर्किएका सैनिकमाथि किन भयो छानबिन ?
संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘युनाइटेड नेसन्स डिस्इंगेजमेन्ट अब्जर्भर फोर्स’ मिसनमा खटिएको नेपाली टोलीमाथि २२ मंसिर २०८१ मा हतियारधारी समूहले आक्रमण गरेको थियो । त्यसबेला मिसनमा खटिएको शान्ति सैनिक टोलीले उनीहरूलाई चेतावनी दिएको थियो, यद्यपि जबरजस्ती प्रवेश गरेर केही अत्याधुनिक हतियार र गोली लुटपाट गरेका थिए । यो मामलामा संयुक्त राष्ट्रसंघले समेत छानबिन गरेको थियो ।
नेपाली सेनाका उपरथी निर्मलकुमार थापा स्वयं यो मिसनका फोर्स कमाण्डर थिए । अधिकृतहरूका अनुसार, सिरिया र इजरायलको विवादित क्षेत्र गोलान हाइटमा खटिएको टोलीलाई ‘इन्गेजमेन्ट’ ९प्रतिकारबाही० का लागि कुनै निर्देशन थिएन । त्यही कारणले हतियार खोस्दा प्रतिकार गर्न नसकिएको बयान दिनेहरुको दाबी छ । तर, हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूह नै प्रवेश गरेर हतियार लुट्दा त्यसलाई रोक्न नसक्नु कमजोरी भएको जंगीअड्डाका अधिकृतहरू बताउँछन् ।
‘यूएनबाट छानबिन भएर हतियार र गोली समेत फिर्ता आइसकेको छ’, एक अधिकृत भन्छन्, ‘तर, भविष्यमा समेत यस्तो घटना नदोहोरियोस् भन्ने हिसाबले कमजोरीबारे समेत जाँच्नु आवश्यक भएकाले छानबिन भइरहेको हो ।’ नेपाल १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेयता शान्ति मिसनमा नेपाली फौज पनि खटिंदै आएको छ । पछिल्लो समय नेपाली सेना विश्वमै सबैभन्दा बढी शान्ति सैनिक पठाउने संगठनमा पर्छ ।
हाल नेपाली सेनाका ५ हजार ९१८ सैनिक विश्वका ११ विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।