दाेर्दी ७ फलेनीमा स्वास्थ्य चाैकी शिलान्यास, १ कराेड ७ लाखकाे याेजना
लमजुङको दोर्दी गाउँपालिका वडा नं. ७ फलेनीमा स्वास्थ्य चौकी भवन निर्माण कार्य शुरु गरिएको छ । राष्ट्रिय योजना आयोगको १ करोड ८ लाख रुपैयाँमा निर्माण कार्य शुरु भएको भवनको आइतबार एक कार्यक्रम गरी शिलान्यास गरिएको छ ।
आइताबार दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले फलेनी स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुरुङले दुर दराजमा रहेका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यका साथ भवन निर्माण कार्य शुरु गरिएको बताउनुभयो । गाउँमा गुणस्तीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ यसै आर्थिक वर्षमा गाउँपालिका भित्र ५ वटा स्वास्थ्यचौकीको सुविधा संपन्न भवन निर्माण गरिने बताउनुभयो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको ५ वटा स्वास्थ्यचौकी भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट बजेट बिनियोजन भएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा ढोडेनी स्वास्थ्य चौकी, फलेनी स्वास्थ्य चौकी, श्रीमञ्ज्याङ स्वास्थ्य चौकी, पाचोक स्वास्थ्यचौकी र हिलेटक्सार स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिेने छ ।
हिलेटक्सार स्वास्थ्य चौकी बाहेक अन्य भवन निर्माणको काम शुरु भइसकेको अध्यक्ष गुरुङले बताउनुभयो । भैरव सुभारम्भ जेभी कास्की सँग निर्माण संझौता भएर चालु आर्थिक वर्षभित्र निर्माण कार्य संपन्न हुने गरी फलेनी स्वास्थ्य चौकीको निर्माण कार्य थालिएको गाउँपालिकाका सुचना अधिकारी धर्म गुरुङले बताउनुभयो ।
जिर्ण अवस्थामा रहेको पुरानो भवनका कारण गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न समस्या हुँदै आएकोमा सुविधा संपन्न नयाँ भवन निर्माण पश्चात भने गुणस्तरीय सेवा प्रदान गर्न सकिने गाउँपालिका उपाध्यक्ष दिल बहादुर घलेले बताउनुभयो ।
भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिल बहादुर घले, कार्यपालिका सदस्य हिमाला घिमिरे, उषा गुरुङ, वडा अध्यक्ष प्रेम बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।