लमजुङ क्याम्पसमा अध्ययनरत २९ जना विद्यार्थीलाई कोरोना, स्वास्थ्य अवस्था सामान्य

मूलखबर संवाददाता
लमजुङ

लमजुङको सुन्दरबजार नगरपालिका ७ मा रहेको लमजुङ क्याम्पसमा अध्ययनरत २९ जना विद्यार्थीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

क्याम्पसमा चौथों र छैटौं सेमिस्टारमा अध्ययनरत विद्यार्थीहरुमा कोरोना पुष्टि भएको क्याम्पसले जनाएको छ । कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरा लगिएकोमा शनिबार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

क्याम्पसका प्रमुख डा. नारायण न्यौपानेका अनुसार शनिबार छात्रा १८ जना र छात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्याम्पसमा अध्ययरनत २ छात्रलाई एकसाता अघि स्वास्थ्य समस्या भएपछि घर गएका थिए । कारोना संक्रमणको लक्षण देखिएका उनीहरु घरमा जाँदा कोरोना परीक्षण गरेको थियो । दुवैलाई पोजेटिभ देखिएको थियो । उनीहरुको कन्ट्रयाक्टमा रहेका २ छात्रामा पनि लक्षण देखा परेपछि क्याम्पसको होस्टलमा रहेका अन्य विद्यार्थी र उनीहरुको जाँच गर्दा २ जनामै कोरोना देखिएको थियो । उनीहरु होस्टलमा रहँदै आएकाले त्यस लगत्तै होस्टलमा सबै विद्यार्थीको कोरोना जाँच गरिएको हो ।

होस्टलमा रहेका ८२ जनाकै कोरोना जाँच गरिएको क्याम्पसले जनाएको छ । पीसीआर रिपोर्ट पोजेटिभ आएका विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीलाई भने लक्षण देखिरहेको जनाएको छ । क्याम्पसमा चौथों र छैटौं सेमिस्टारको परीक्षा सञ्चालन भइरहकोमा विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार होस्टलमा बस्दै आएका २ विद्यार्थीमा एक साताअघि कोरोना देखिएको थियो । अन्य विद्यार्थीको पनि कोरोना जाँच गार्द शनिबार २९ जनाको पोजेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो । छात्रलाई नमुना सामुदायिक अस्पतालको आइसोलेसनमा र छात्रालाई क्याम्पसकै आइसोलेसनमा राखिएको प्रजिअ शर्माले बताउनुभयो ।

क्याम्पसका आर्थिक उपनियन्त्रक रामजी खड्काका अनुसार होस्टेलमा बस्दै आएका विद्यार्थीहरुमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका उनीहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिएको छ । विद्यार्थीको सम्पर्कमा रहेकाहरुलाई समस्या परेमा भन्न अनुरोध गरिएको छ ।

कोरोना पुष्टि भएका विद्यार्थीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको क्याम्पसले जनाएको छ ।