अर्को खोपको खुशीको खवर !

रामकुमार सुवेदी

अर्को खोपको खुशीको खवर !!

अमेरिकामा कोभिडले झन्डै १८ मिलियन संक्रमित छन्, ३ लाख १६ हजारको निधन भैसकेको छ । सेकेन्ड वेभ् शुरु भएकै छैन तर अमेरिकामा आएका बिभिन्न पर्वमा भेला र भीडले प्रत्येक दिन लाखौं संक्रमित हुँदैछन् र दिनहुँ झन्डै ३ हजारको ज्यान कोभिडले लिंदैछ । थ्याँक्स गिभिँगको इन्डोर भेटघाटले कोरोनाको शुरुवाति आतंकलाई पनि पछि पारिसकेको छ अब क्रिसमस, हनाका, नयाँ बर्ष आउँदैछ यसले कस्तो विकराल रूप लिने हो कल्पना पनि गर्न सकिन्न तर यसै बीच अर्को खोपको सुखद समाचार आएको छ, त्यो हो मोडेर्ना खोप ।

अमेरिकी संघीय सरकारले दोश्रो उत्पादक मोडेर्ना खोपको अनुमति शनिवार डिसेम्बर १९, २०२० मा दिएपछि बिभिन्न राज्यका अस्पताल, नर्सिंग होम, वाल-ग्रिन्स र सिभिएस फार्मेसीमा ढुवानी गर्न तयारी अवस्थामा राखिएका छन् । भोलि आईतबारदेखि फेडेक्स र युपिएसले स्थल मार्ग र हवाई मार्गद्वारा ती खोपका प्याकेजहरूलाई इन्डियाना, टेनेसी र केन्टकी उत्पादन क्षेत्रबाट केन्द्र र राज्य सरकारद्वारा तोकिएका झन्डै ४ हजार स्थानहरुमा पुर्याउन थाल्ने छन् र सोमवारबाट मोडेर्नाको कोभिड विरुद्धको खोप दिन थालिने छ ।

फेडेक्स र युपिएसले क्रिसमस र नयाँ बर्षको समयका गिफ्ट प्याकेजलाई कम प्राथमिकता दिएर खोप ढुवानीलाई उच्च र पहिलो प्राथमिकता दिएका छन् । मोडेर्नाको खोपलाई वितरणमा सहयोग पुर्याउन अर्भिँग टेक्सासमा रहेको ढुवानी कम्पनी मेककेस्सन पनि संलग्न भएको छ । फाइजरको खोपहरू ढुवानीकर्ताहरुको हबहरुमा पहिले गएकोमा यसपल्ट सोझै अस्पताल, नर्सिंग होम, वाल-ग्रिन्स र सिभिएस फार्मेसीमा जानेछ । पहिलो मोडेर्नाको खोप झन्डै ६ मिलियन डोज रहेको छ ।

यो मोडेर्नाको खोप सर्वप्रथम पठाईएको फाइजरको भन्दा दुई गुना बढी रहेको छ । फाइजर र मोडेर्ना गरेर जम्मा ९ मिलियन डोज डाक्टर, नर्स र नर्सिंग होमका लागि जानेछ । फाइजरको खोप जस्तै मोडेर्नाको खोपका लागि पनि फेडेक्स र युपिएसका हवाई जहाजहरुलाई अमेरिकन एयर मार्शलको जहाजले उडानभर सुरक्षा दिनेछ । खोप बोकेका स्थल मार्गका सवारी साधनहरुलाई पनि समयमै सुरक्षित रूपमा पुर्याउन बिशेष व्यवस्था गरिएको छ । अमेरिकाले यो बर्षको अन्त्यसम्म ४० मिलियन डोज ढुवानी गरी २० मिलियन अमेरिकन जनतालाई खोप दिने लक्ष्य लिएको छ ।

केही राज्यहरूबाट दोश्रो लटमा पठाईने खोपमा झन्डै ४० % कम गरिएको गुनासो गरिएकोमा, त्यो ढुवानीमा सामान्य त्रुटि रहेको र निर्धारित गरिएको खोप नै पठाईने केन्द्र सरकारले स्पष्ट पारेको छ । फाइजर र मोडेर्नाको खोपमा खास तात्विक अन्तर छैन । दुबै झन्डै ९५ % सफल परीक्षण भएका छन् । तर मोडेर्नाको खोपलाई सामान्य फ्रिजमा सन्चित गर्न सकिन्छ भने फाइजरको लागि धेरै चीसोमा -९४ मा राख्नु पर्छ । मोडेर्नाको दोश्रो डोज ४ हप्तापछि दिनुपर्छ भने फाइजरको ३ हप्तामा दिनु पर्छ । फाइजरको भ्याक्सिन १६ बर्षभन्दा माथिकालाई दिईन्छ भने मोडेर्नाको १८ बर्ष भन्दा माथिकालाई दिईनेछ ।

अमेरिकी जनतालाई कुन खोप लगाउने भनेर छान्ने अवसर छैन, जुन खोप त्यहाँ उपलब्ध छ त्यही लगाउनु पर्नेछ । तेश्रो खोप पनि आउने तयारीमा छ अमेरिकन जनताका लागि । जन्सन एन्ड जन्सनले २०२१ को जनवरीको शुरुतिरै ल्याउने देखिन्छ ।