चिनले दिएको आत्मविश्वास र निश्चितताको सन्देश

छन सोङ
काठमाडौं

हालै सम्पन्न चीनका दुई राष्ट्रिय अधिवेशनले विश्वमा आत्मविश्वास र निश्चितताको सन्देश दिएका छन् । विश्वले चीनलाई अवलोकन गर्ने र बुझ्ने सञ्जालका रूपमा रहेका यी दुई राष्ट्रिय अधिवेशनले यस वर्ष पनि विदेशी सञ्चार मिडियाको व्यापक ध्यानाकर्षण गरे ।

यिनै अधिवेशनका माध्यमबाट चिनियाँ राजनीतिको वर्तमान दिशा बुझेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चीनको आर्थिक–सामाजिक विकासका सम्भावनालाई अझ सकारात्मक रूपमा प्रस्तुत गरी चीनले यस अस्तव्यस्त विश्वमा बहुमूल्य आत्मविश्वास र निश्चितता प्रदान गरेको कुरालाई पुष्टि गरेका छन् ।

छन सोङ

चीनका ‘दुई राष्ट्रिय सभा’ भनेका चिनियाँ राष्ट्रिय जनप्रतिनिधिसभा र चिनियाँ राजनीतिक परामर्श जनसभा हुन् । अत्यन्त महत्त्वपूर्ण यी दुई निकायको प्रत्येक वर्षको मार्च महिनामा राष्ट्रिय अधिवेशन बस्ने हुँदा त्यसलाई संक्षिप्त रूपमा ‘दुई राष्ट्रिय अधिवेशन’ भनिन्छ । चिनियाँ राष्ट्रिय जनप्रतिनिधिसभा चीनको सर्वोच्च शक्तिशाली निकाय हो, यसले संविधान संशोधन, संविधान कार्यान्वयनको अनुगमन, आधारभूत कानुन निर्माण र संशोधन, राष्ट्रिय निकायका सदस्यहरूको निर्वाचन, राष्ट्रिय आर्थिक तथा सामाजिक विकासका योजनाहरूको समीक्षा र अनुमोदन आदि कार्य गर्दछ ।

चिनियाँ राजनीतिक परामर्श जनसभा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा धेरैवटा राजनीतिक पार्टीहरूबीचको सहयोग र राजनीतिक परामर्शको महत्त्वपूर्ण माध्यम र निकाय पनि हो । यो समाजवादी प्रजातन्त्रको महत्त्वपूर्ण माध्यम र राजनीतिक परामर्शको विशेष निकाय हो । यसले राजनीतिक परामर्श, प्रजातान्त्रिक अनुगमन र राजनीतिक सहभागिताजस्ता कार्य गर्दछ ।

यस वर्षका दुई राष्ट्रिय अधिवेशनमा सम्पूर्ण देशका करिब ३ हजार जनप्रतिनिधिले बेइजिङमा भेला भई २०२४ सालको जनसरकार, सर्वोच्च न्यायालय र सर्वोच्च अभियोजन जनन्यायालयको कार्य प्रतिवेदनमाथि विचारविमर्श गरे । २०२५ सालको केन्द्रीय र स्थानीय बजेटको मस्यौदा, राष्ट्रिय आर्थिक तथा सामाजिक विकास योजनाको मस्यौदा आदिबारे समीक्षा भयो । राष्ट्रिय राजनीतिक परामर्श जनसभाका करिब २ हजार प्रतिनिधिले चौधौं राष्ट्रिय राजनीतिक परामर्श सभाको तेस्रो अधिवेशनमा सहभागी बनी सम्बन्धित निर्णयहरू सुन्नुका साथै सोमाथि विचारविमर्श र चौधौं राष्ट्रिय जनप्रतिनिधिसभाको तेस्रो अधिवेशनमा पर्यवेक्षकका रूपमा उपस्थित भई सम्बन्धित प्रतिवेदनहरू ध्यानपूर्वक श्रवण गरे ।

यस वर्षका चीनका दुई राष्ट्रिय अधिवेशनका सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भन्नु अनिश्चित अन्तर्राष्ट्रिय वातावरणमा चीनले ‘आत्मविश्वास’ र ‘निश्चितता’को सन्देश प्रवाह गर्नु हो ।

चिनियाँ आर्थिक वृद्धिको आत्मविश्वास र निश्चितता

जटिल परिवर्तनशील राष्ट्रिय–अन्तर्राष्ट्रिय वातावरणको सामना गरी चिनियाँ अर्थतन्त्रले ‘स्थिरता’ र ‘प्रगति’ को सकारात्मक प्रवृत्ति प्रस्तुत गरेको छ । चीनमा नयाँ गुणस्तरको विकास ठोस रूपमा अघि बढिरहेको छ र प्रमुख आर्थिक परिसूचकहरूमा सकारात्मक परिवर्तन आएको छ । चिनियाँ अर्थतन्त्रले विश्वको आर्थिक विकासका लागि निश्चितता र सकारात्मक ऊर्जा थपिरहेको छ । अन्तर्राष्ट्रिय बजारको आत्मविश्वासको अभिवृद्धि गरेको छ ।

यस वर्षको चीन सरकारको कार्य प्रतिवेदनमा उल्लेखित दुईवटा ‘५ प्रतिशत’ ले गहिरो छाप छोडेका छन् । पहिलो ५ प्रतिशत सन् २०२४ मा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर हो । यो वृद्धिदर प्रमुख ठूला देशहरूबीच ‘एक मात्र’ रहेको छ । यो ५ प्रतिशतको वृद्धिदर विकाससम्बन्धी गम्भीर समस्याबीच विश्वभरको वृद्धिदर न्यून भइरहेको अवस्थामा र बाहिरी शक्तिहरूको हस्तक्षेप भइरहेका बेलामा कठिन मिहिनेतद्वारा प्राप्त गरिएको थियो । त्यसकारण यसको महत्त्व विशेष छ ।

यो ५ प्रतिशतको आर्थिक वृद्धिदरका पछाडि उच्च गुणस्तरको विकासका उपलब्धिहरू रहेका छन् । सहरी र ग्रामीण क्षेत्रमा १ करोड २५ लाख नयाँ रोजगारीका अवसर सिर्जना गरिएका थिए । सर्वसाधारण जनताको औसत आयमा ५.१ प्रतिशतको वृद्धि भएको छ । अन्न उत्पादन परिमाण पहिलो पटक ७ खर्ब किलोग्राम नाघेको छ । नवीन ऊर्जा मोटरगाडी उत्पादन प्रतिवर्ष १ करोड ३० लाख नाघेको छ । प्रतिएकाइ जीडीपीमा ऊर्जा खपत ३ प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता र ‘क्वान्टम’ प्रविधि आदि क्षेत्रमा एकपछि अर्को उपलब्धि हासिल भएका छन् ।

सर्वसाधारणको सामाजिक सुरक्षाका लागि बढी प्रयास गरिएका छन् । सुधार नीतिमा महत्त्वपूर्ण निर्णयहरू गरिएका छन् । बाह्य विश्वप्रतिको उच्चस्तरीय खुलापनको विस्तार गरिँदै छ । ‘स्थिरता’ र ‘प्रगति’को जगमा नयाँ युगको चीन देश निर्माण र पुनर्जागरणको विजय यात्रामा हुरी–बतासबीच पनि अहिले अवरोधरहित ढंगले अघि बढिरहेको छ ।

दोस्रो, ५ प्रतिशत यस वर्षको चिनियाँ आर्थिक वृद्धिदरको अनुमानित लक्ष्य हो । यो लक्ष्य एकातिर रोजगारको अवसर निश्चित बनाइराख्न, जोखिमको बचाउ गर्न र जीवनस्तर उकास्नका निम्ति आवश्यक छ भने अर्कोतिर आर्थिक वृद्धिको सम्भाव्यता र अनुकूल अवस्थाको सहारामा मात्र सम्भव भएको हो ।

यो चीनको मध्यम तथा दीर्घकालीन विकास लक्ष्यअनुरूप कठिन परिस्थितिमा मिहिनेत गर्दै अघि बढ्ने स्पष्ट मार्गदर्शन हो । चीनको राजनीतिक–आर्थिक प्रणाली विशेष अनुकूल छ, यहाँ अत्यन्त ठूलो बजार, सशक्त औद्योगिक व्यवस्था, पर्याप्त जनशक्ति, स्रोतसाधन आदि अनेक अनुकूल अवस्था रहेका छन् । यहाँ दीर्घकालीन योजना, वैज्ञानिक नियन्त्रण व्यवस्था र तल्लो र माथिल्लो तहबीच समन्वय गर्ने प्रभावकारी संयन्त्र पनि रहेका छन्, त्यस्तै आवश्यकताको स्तरोन्नति, संरचनाको अनुकूलन गतिशील ऊर्जा रूपान्तरणका निम्ति प्रशस्त स्थान रहेको छ ।

दीर्घकालीन आर्थिक विकासको आधारभूत प्रवृत्तिमा केही परिवर्तन आएको छैन र आउने पनि छैन । लक्ष्य प्राप्तिका लागि आधार सहारा र ग्यारेन्टी रहेका छन् ।

विज्ञान तथा प्रविधिको विकासमा फड्को

विगत एक वर्षमा चिनियाँ अर्थतन्त्रका ‘नवीन’, ‘हरित’ र ‘सबल’ आदि विशेषताहरू अझ बढी अभिव्यक्त भएका छन् । विज्ञान प्रविधिको नवीन विकासमा निरन्तर ऊर्जा थप, परम्परागत उद्योगहरूको स्तरोन्नति र नयाँ उद्योगहरूको अभिवृद्धि भएको छ । हरितीकरण र कार्बन न्यूनीकरणको गति बढेको छ । नयाँ गुणस्तरका उत्पादन शक्तिमा निरन्तर उन्नति हुँदै गइरहेको छ । ‘डिजिटाइजेसन’को क्षेत्रमा चीन विश्वकै प्रवर्द्धक र योगदानकर्ता बनेको छ । पूर्ण अनुमान अनुसार २०३५ सालमा चीनको डिजिटल अर्थतन्त्र सम्पूर्ण जीडीपीको ७१.६ प्रतिशत पुग्नेछ, कृत्रिम बौद्धिकतासँग सम्बन्धित उद्योगको परिमाण १७ खर्ब ३० अर्ब युआन पुग्नेछ, त्यसबेला बैंकिङ अनुपात अहिलेको १० प्रतिशतबाट बढेर ३०.६ प्रतिशत पुग्नेछ ।

दुई राष्ट्रिय अधिवेशनमा ‘कृत्रिम बौद्धिकता’ एक महत्त्वपूर्ण चर्चित शब्दावली बन्न गयो । केही नयाँ शब्दहरू सरकारको कार्य प्रतिवेदनमा देखा परेका छन् । कृत्रिम बौद्धिकता सयौं–हजारौं व्यवसायहरूमा प्रयोग गर्न थालिएको छ र त्यो नयाँ गुणस्तरको उत्पादन शक्तिको महत्त्वपूर्ण अंग बन्न गएको छ ।

मानव आकृतिका रोबोटहरू विभिन्न कारखाना र सर्वसाधारण जनताको घरमा पुगी उत्पादन र दैनिक जीवनमा असल सहयोगी बनेका छन् । तिनीहरूले नयाँ औषधि र चिकित्सकीय उपकरणको आविष्कारका निम्ति प्रयोगशालादेखि अस्पतालसम्मको अन्तिम एक मिटरको बाटो खुलाइदिएका छन् र रोगमाथि विजय प्राप्त गर्ने उपकरणमा अभिवृद्धि गरेका छन् । ‘डीपसिक’को उपस्थितिबाट विस्मित भई मानिसहरू अझ विकासबारे सोच्न थालेका छन् ।

‘पूर्वको शक्ति’ बिल्कुलै रहस्यमय छैन । निरन्तरको सुधार नीति, व्यापारिक वातावरणको निरन्तर अनुकूलन, नवीन प्रयोग र विकासका लागि आवश्यक वातावरणको सिर्जना, प्रयोगकर्ताहरूको दीर्घकालीन तल्लीनता र अविचलनले गर्दा यस्तो उच्च गतिको विकास सम्भव भएको हो ।

आजको चीनमा वैज्ञानिक उपलब्धिका आधारमा वैज्ञानिक अनुसन्धानमा सरकारले आर्थिक अनुदान दिने व्यवस्थाको माध्यमबाट वैज्ञानिक अनुसन्धानकर्ताहरूको सिर्जना शक्तिको विकास गरी सरकारी स्वामित्वमा रहेका महत्त्वपूर्ण उद्योगहरूमा वैज्ञानिक सुधारबाट नवीन प्रयोग र विकास अघि बढाएको छ । त्यस्तै नयाँ क्षेत्रको व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाई आर्थिक लगानीद्वारा नवीन प्रयोग र विकासलाई टेवा पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

यी सम्पूर्ण क्षेत्रको सुधारको विशाल लहरमा अनेकौं गुणात्मक प्रभाव देखा परेका छन् । तिनीहरूले उच्च गुणस्तरीय विकासका निम्ति नयाँ जीवन ऊर्जा थपेका छन् ।

सन् २०२४ मा चीनको नवीन प्रयोग तथा विकासको परिसूचक विश्वको सूचीमा ११ औं स्थानमा पुगेको छ । चीन विगत १० वर्षदेखि नवीन विकासको सबैभन्दा छिटो प्रगति भएको अर्थतन्त्रमध्ये एक बनेको छ । चीन वैज्ञानिक नवीन विकास समूह सबैभन्दा बढी भएको देश पनि हो, जहाँ सयवटा यस्ता समूह क्रियाशील छन् ।

विदेश नीतिको आत्मविश्वास र निश्चितता

वर्तमान विश्व अस्तव्यस्त भएको छ, निश्चितता भन्ने कुरा विश्वव्यापी रूपमा दुर्लभ छ । ठूला देशहरूले गर्ने निर्णयले नै यो युगको दिशानिर्देश गरी सम्पूर्ण विश्वमा प्रभाव पर्दछ । चीनको कूटनीति सदा इतिहासको सत्य र मानवजातिको उन्नतिको पक्षमा रहनेछ र चीनको निश्चितताले अनिश्चित विश्वलाई स्थिरता दिलाउने छ ।

पहिलो, विश्वव्यापी परिवर्तनको निश्चितताद्वारा प्रतिक्रिया जनाउनु । चीनले समूहबाट अलगिने र उत्पादन सिक्री तोड्ने प्रविधिको विरोध गरी उच्चस्तरको खुलापनको माध्यमबाट बहुपक्षीय सहकार्यलाई अघि बढाएर विश्व अर्थतन्त्रलाई पुनर्जीवित पार्न ऊर्जा थप्नेछ । चीन सदासर्वदा अन्तर्राष्ट्रिय स्थिरताको पक्षमा रहनेछ र संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय संयन्त्रद्वारा हावापानी, अन्न, सुरक्षा आदि विश्वव्यापी चुनौतीको समाधान गर्ने पक्षमा रहनेछ ।

दोस्रो, विकासशील देशहरूसँग विकासका निम्ति सहकार्य गर्ने । चीनले अरू देशहरूसँग ‘इमानदारीपूर्वक व्यवहार गर्ने, कुनै राजनीतिक पूर्वसर्त नराख्ने’ सहकार्यको नीतिमा अडिग रही बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० प्रस्तावना तथा दक्षिण–दक्षिण सहकार्यको खाकाको माध्यमबाट अफ्रिकालाई आफ्ना समस्याहरूको स्वयम् समाधान गर्न समर्थन गर्दछ ।

त्यस्तै ब्राजिल, दक्षिण अफ्रिका आदि विश्वका दक्षिणका देशहरूको अन्तर्राष्ट्रिय अभिव्यक्तिको अधिकार अभिवृद्धि गर्न र प्रविधि प्रसार तथा आधारभूत भौतिक संरचनामा लगानी बढाएर जनजीवनस्तर उकास्ने कार्यमा पनि पूर्ण समर्थन र सहयोग गर्दछ ।

तेस्रो, चारवटा प्रस्तावनाद्वारा सहकार्य सञ्जालको निर्माण गर्ने । बीआरआईको माध्यमबाट डिजिटल र हरित आर्थिक सहकार्य बढाउने, वैकल्पिक विकास प्रस्तावनाद्वारा हरित रूपान्तरण केन्द्रित भई इलेक्ट्रिक भेहिकल, फोटो भोल्तेइक प्रविधिको निर्यात गरी दिगो विकासलाई सहयोग पुर्‍याउने । वैकल्पिक सभ्यता प्रस्तावनाद्वारा बहुपक्षीय संवादलाई अघि बढाउने र जनजीवनको आत्मीय सम्बन्धको विकास गर्ने । वैकल्पिक सुरक्षा प्रस्तावनाद्वारा शान्तिपूर्ण संवादलाई जोड दिने र युक्रेन, प्यालेस्टाइन, इजरायल समस्यामा चीनको जिम्मेदारीपूर्ण भूमिकालाई स्पष्ट गर्ने ।

चौथो, विकासको फल छिमेकी राष्ट्रहरूसँग सह–उपयोग गर्ने । २०२४ सालको चीन सरकारको कार्य प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, ‘छिमेकी राष्ट्रहरूसँगको मैत्रीपूर्ण आपसी विकास र लाभको मेललाई गहन बनाउने र बीआरआईको संयुक्त रूपमा उच्च गुणस्तरको निर्माण, आधारभूत भौतिक संरचनाद्वारा कनेक्टिभिटीको प्रवर्द्धन गर्ने ।’

चीनले नेपाल सीमापार रेलमार्ग, विद्युतीय ऊर्जामा सहकार्य, स्वच्छ ऊर्जाको विकास आदि ठूला तथा महत्त्वपूर्ण परियोजनाका लागि नीतिगत सहयोग प्रदान गरिरहेको छ । यसका साथै चीनको उच्चस्तरीय खुलापनको विस्तार, स्मार्ट भन्सारको निर्माणले नेपाली विशेषतायुक्त उत्पादनहरूले चीनको बजारमा प्रवेश पाउन सहयोग पुग्नेछ र त्यसबाट नेपालको आर्थिक–सामाजिक विकासमा पनि टेवा पुग्नेछ ।

चीनको दुई राष्ट्रिय अधिवेशनका निर्णयहरूले मानवजातिको साझा भाग्यको समस्त निर्माणका निम्ति चीनको दृढ निश्चय मात्र अभिव्यक्त भएको छैन, नयाँ युगमा चीन–नेपालको सम्बन्ध विकासका निम्ति दिशानिर्देश पनि गरेको छ । भविष्यमा चिनियाँ पक्ष नेपाली पक्षसँग एकसाथ विभिन्न सेक्टरहरूमा ठोस सहकार्यलाई अझ गहन बनाउन, चीन–नेपाल हिमालय वारपारको त्रि–आयामिक ‘कनेक्टिभिटी’ सञ्जाल निर्माण गरी सुन्दर भविष्यतर्फ अघि बढ्न चाहन्छ । – कान्तिपुरबाट

(छन नेपालका लागि चिनियाँ राजदूत हुन् ।)