सुराकीकाे अभियाेगमा शिक्षक हत्याको जिम्मेवारी लियाे विप्लव नेकपाले

मूलखबर संवाददाता
काठमाडौं, २४ मंसिर

मोरङको मिक्लाजुङमा भएको शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको छ । मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै समूहले घटनाको जिम्मेवारी लिएको हो ।

विज्ञप्तिमा समूहविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ । पटकपटक पार्टी विरोधी गतिविधि गर्न रोक्न र आफूलाई सच्याउन भनी सम्झाउँदा पनि उनले उग्र गतिविधि गरेको समूहको दाबी छ ।

मंगलबार बिहान ७ बजे घरबाट करिब ३ सय मिटर पर जंगलमा लगेर श्रेष्ठलाई बाँधेर घाँटी रेटी हत्या गरिएको प्रहरीले जनाएको छ । विप्लव माअाेवादीलाई राजनीतिक शक्ति मानेर प्रतिवन्ध फुकुवा गरि वार्ताबाट समस्याको समाधान गर्न माग बढिरहेका बेला भएकाे हत्या र जिम्मेवारीबाट विप्लव पार्टीबारेको धारणा परिवर्तन हुन सक्ने देखिन्छ ।