कविता : मानचित्रको चिन्ता

रचना मोक्तान "यात्री"
काठमाडौं

कविता : मानचित्रको चिन्ता
रचना मोक्तान “यात्री”✍️

एक समयमा
स्वप्निल गगनको
ताराहरूको गुजुल्टाहरूबाट
झरिरहेको उल्कापात झैं
तिलस्मी ढङ्गले
पूर्खाहरुको रगतले
सिमारेखा कोरिएको
जंगे पिल्लर रंगिएको
मेरो आँखाको नानी जस्तै
हरदम धड्कीरहने
मेरो कोमल मुटु जस्तै
मेरो देशको मानचित्र
उच्च शिर बोकेर
सुगाको ठूँड झैं चुच्चो भयो
र, म सबैसँग हो मा हो मिलाउँदै
हर्षले तीन हात उफ्रिएँ
तर, केही समयको
अभिशप्त अन्तरालमा
कसैको दबाबमा हो
या के को अभावमा हो ?
शिशिर यामको
चिसो-चिसो पावन्दीमा
बिहानीको घाम उदाएपछि
एकछिन मोती झैं टल्किरहेको
शीतका थोपाहरु हराए जस्तै
मेरो आँखाको नानीबाट
मेरो मुटुको ढुकढुकीबाट
मेरो प्राण भन्दा प्यारो देशको
मानचित्रको चुच्चो
सिमानाको जंगे पिल्लर जस्तै
रातारात हरायो ।
****** मङ्सिर २३,२०७७