लमजुङका १६ सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितरण, १७२५ जना लाभान्वित

मूलखबर संवाददाता
काठमाडौं

लमजुङको बेंसीसहर नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयले सेनेटरी प्याड पाएका छन् । नगरपालिकाले १३ वटा माध्यमिक विद्यालय र ३विद्यालयमा अध्ययनरत छात्राको सहजताका लागि नगरपालिकाले सेनेटरी प्याडको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी अधिकारीका अनुसार विद्यालयमा अध्ययरत छात्रा महिनवारी भएकै कारण विद्यालय जानबाट बञ्चित हुन परेको अवस्थाको अन्त्यका लागि सेनेटरी प्याडको व्यवस्था गरिएको हो । महिनावारीका कारण घरमै बस्नुपर्ने र विद्यालयमा जान नपाउँदा पढाई प्रभावित हुने भएकाले छात्राका लागि प्याडको व्यवस्था गरेको उहाँले बताउनुभयो । नगरपालिकाले विद्यालयलाई प्रदान गरेको प्याड विद्यालयले समिति बनाएर छात्रालाई वितरण गर्नेछ ।

‘जब छात्रा महिनावारी हुन्छ । प्याड अभावका कारण उनीहरु विद्यालय जान सक्दैनन् । कम्तिमा पनि ३/४ दिन उनीहरुको पढाई छुटेको हुन्छ । यसले विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुँदैन’ उहाँले भन्नुभयो, ‘केही विद्यार्थीले आफैंले व्यवस्थापन गर्दै आएपनि अब सरकारले व्यवस्थापन गरेको छ । सरकारले शसर्त अनुदानमार्फत रकम पठाएको छ । यसलाई समानुपातिक रुपमा वितरण गर्छौं । विद्यालयमा प्याडको व्यवस्था भएपछि छात्रा नियमित विद्यालय आउँछन् ।’

गतबर्ष नै सेनेटरी प्याडका लागि बजेट आएको र खरिद गरेर राखेपनि कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनले गर्दा वितरण गर्न सकिएको थिएन । गतबर्ष खरिद गरिएको प्याड यसबर्ष वितरण गरिएको र यसबर्ष पनि कार्यक्रम रहेको अधिकारीले बताउनुभयो । अहिले नगरपालिकाले माध्यमिक र आधारभूत विद्यालयमा मात्रै वितरण गरेपनि प्राथमिक विद्यालयमा पनि आवश्यक पर्ने भएकाले वितरण गरिने बताउनुभयो । विद्यालयलाई दिइएको प्याड व्यवस्थितका साथ राख्न र वितरण गर्न अनुरोध गर्नुभयो ।

नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालका अनुसार गतबर्षको ५ लाख रुपियाँ बजेटबाट सेनेटरी प्याड खरिद गरी विद्यालयहरुलाई वितरण गरिएको हो । १६ विद्यालयमा अध्ययरत १ हजार ७ सय २५ छात्राका लागि ९ हजार ६ सय ५५ वटा प्याड वितरण गरिएको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमकाबीच प्याड वितरण गरेको हो । १६ विद्यालयका कूल विद्यार्थी ३ हजार ३५ जना मध्ये छात्रालाई प्याडको व्यवस्था गरिएको हो । महिनावारीको समय छात्रालाई विद्यालय आउन असहज हुने भएकाले नगरपालिकामार्फत प्याडको व्यवस्था गरिएको चिलुवालले बताउनुभयो । विद्यालयको माग अनुसार नगरपालिकाले प्याडको व्यवस्था गर्ने बताउनुभयो ।

शिक्षा शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीका अनुसार नगरपालिकाले दिएको सेनेटरी प्याड विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा बनेको वितरण समितिले व्यवस्थापन गर्नेछ । छात्रालाई महिनावारी भएको समय सहज रुपमा विद्यालयमै प्याडको व्यवस्था गरिने छ । यसअघि विभिन्न गैर सरकारी संस्थासंस्थाले सेनेटरी प्याड सहयोग गर्दै आएको विद्यालयमा नगरपालिकाले सहयोग गरेको हो । विद्यार्थी संख्याको आधारमा नगरपालिकाले व्यवस्थापन गर्ने भएपछि सहज हुने बेंसीसहर नगरपालिका ३ गाउँशहरको लमजुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक सिता बरालले बताउनुभयो । यसले छात्रालाई नियमित विद्यालय आउने वातावरण सिर्जना गर्नेछ ।

बेंसीसहर नगरपालिकामा ५२ वटा सामुदायिक विद्यालय छन् । माध्यमिक विद्यालय १३ वटा, आधारभूत विद्यालय ३ वटा र ३६ वटा प्राथमिक विद्यालय छन् ।