आज छठ, देशैभर उल्लासपुर्वक मनाइँदै, प्रदेश २ मा दुई दिन विदा

मूलखबर संवाददाता
काठमाडौं, ५ मंसिर

आज देशैभरी छठ पर्व उल्लासपुर्वक मनाईदैछ । नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि पञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजार्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने,समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास छ ।

प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला छन्।

छठमा केन्द्र सरकारले बिदा दिएको छैन। प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक नहुने भएकी छन्।

राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौंका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन्। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिहीबार विज्ञप्ति जारी गरी भोलि मनाइने छठ पर्वका लागि राष्ट्रपति भण्डारी सहभागी नहुने जानकारी दिएका हुन्।

राष्ट्रपति भण्डारी यस वर्षको बडादशैंका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन्।