एउटै जिल्लामा ३ महिनामा ५ महिलाकाे बीभत्स हत्या : किन हुन्छ यस्तो ?

मूलखबर संवाददाता
काठमाडौं, २८ कात्तिक

माधवनारायण नगरपालिका– ७ लौकाहा टोलकी एक किशोरीको बुधबार राति गोली हानी हत्या भयो । स्थानीय रामअयोध्या साहकी १८ वर्षीया छोरी अमृताकुमारीलाई गोली प्रहार गर्ने समूहको पहिचान हुन सकेको छैन ।

प्रहरीका अनुसार घरमै सुतिरहेकी अमृतालाई राति करिब ११ बजे कन्चटमा गोली प्रहार गरिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए । अमृताको विवाह भइसकेको थियो । प्रेम सम्बन्धका कारण उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

अमृताको विवाह फागुन ०७६ मा सर्लाही मधुवनगोठ गाउँका रूपेश साहसँग भएको थियो । गत असारमा पतिसँग सम्बन्धविच्छेदपछि उनी माइतीमै बस्दै आएकी थिइन् । किशोरीको हत्यामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको व्यापक खोजतलास भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

यसअघि १६ असोज दिउँसो घाँस लिन गएकी बृन्दावन नगरपालिकाकी १६ वर्षीया किशोरीको पनि गाउँकै उखुबारीमा बलात्कारपछि हत्या भएको थियो । उनी मामाघरमा बस्दै आएकी थिइन् । यस्तै, १४ भदौमा गढीमाई नगरपालिका–३ मुसहरी टोलका सकल बैठाकी श्रीमती मिन्त्रादेवीको घाँस काट्न जाँदा उखुबारीमै हत्या भएको थियो । बिहानै घरबाट निस्केकी उनी साँझसम्म घर नफिरेपछि खोजी गर्दा उखुबारीमा बीभत्स ढंगले हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो ।

९ असोज राति देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँका महेश तिवारीदम्पतीमाथि आक्रमण भयो । आक्रमणमा परी उनकी पत्नी जगरामी देवीको मृत्यु भयो । देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चारजनाले उनीहरूमाथि आक्रमण गरेका थिए ।

यस्तै, २२ असोजमा दुर्गा भगवती गाउँपालिका–४ छतौनाका महमद धुनियाकी सात वर्षीया छोरी रोबिना मन्सरीको हत्या भयो । छतौनाकै फूल महम्मद, लाल महम्मद, नसुद्दिन मन्सुरी र सहनाज मन्सुरीले उनको हत्या गरी छिमेकी जनरल कवाडीको घरमा शव राखेर फरार भएका थिए ।

१४ असोजमा प्रहरी हिरासतमा एक महिलाको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा रहेकी गुजरा नगरपालिका–२ कटानी बजारकी राधिका राउतको मृत्यु भएको हो । याे खबर नयाँ पत्रिकामा छ ।