तपाईको रक्तसमुह कुन हो ? ‘ओ’ समुहलाई कोरोनाको जोखिम कम देखियो

मूलखबर संवाददाता
काठमाडौं, २९ असोज

दुई छुट्टाछुट्टै अनुसन्धानले ‘ओ’ रगत समूहका व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुने सम्भावना अपेक्षाकृत कम भएको देखाएको छ । सङ्क्रमित भएको अवस्थामा समेत उक्त रगत समूहका व्यक्तिमा जटिल समस्या उत्पन्न नहुने अनुसन्धानबाट प्राप्त निचोडको दाबी छ ।
बुधबार प्रकाशित उक्त अनुसन्धानको नतिजाले विज्ञहरुले यसबारेमा थप अध्ययनको आवश्यकता औंल्याएका छन् ।

अनुसन्धानले रगत समूहले सङ्क्रमण फैलन अतिसंवेदनशील भूमिका निर्वाह गर्न सक्ने र सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल हुनमा रगत समूहले समेत निर्धारण गर्ने दाबी गरेका छन् । कोभिड–१९ को सङ्क्रमण र रगत समूहको सम्बन्धबारे अनुसन्धानले स्पष्ट गरेको छैन । यद्दपी यसबारे थप अध्ययनको लागि सुझाइएको छ ।

सीएनएनका अनुसार डेनमार्कमा गरिएको अनुसन्धानमा सात हजार ४२२ जना कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे अध्ययन गरिएको थियो । जसमा ३८.४ प्रतिशत ‘ओ’ रगत समूहका सङ्क्रमित फेला परे । सङ्क्रमित नभएका करिब २२ लाख जनसंख्याको अध्ययन गर्दा तीमध्ये ४१.७ प्रतिशत ‘ओ’ रगत समूहका थिए ।
संक्रमितमध्ये ‘ए’ रगत समूहका करिब ४४.४ प्रतिशत थिए । डेनमार्कको कुल जनसंख्याको करिब ४२.४ प्रतिशत संक्रमित ‘ए’ रगत समूहका छन् ।

त्यसैगरी, क्यानाडामा गम्भिर रुपमा बिरामी भएका ९५ जना सङ्क्रमितमा गरिएको अनुसन्धानमा ८४ प्रतिशत ‘ए’ र ‘एबी’ रगत समूहका थिए । जबकी ओ समुहका ६४ प्रतिशत थिए । दुबै रगत समूहका ब्यक्तिमा ‘ओ’ र ‘बी’ रगत समूहका भन्दा ए र एबी समुहका विरामीलाई बढी मात्रामा भेन्टिलेशन उपचारको आवश्यकता देखियो । क्यानाडामा गरिएको अध्ययनले ‘ए’ र ‘एबी’ रगत समूहका व्यक्तिलाई ‘ओ’ र ‘बी’को तुलनामा बढी समय सघन उपचार कक्षमा बस्नुपर्यो । औसतमा ‘ए’ र ‘एबी’ रगत समूहका व्यक्ति १३।५ दिन आईसीयूमा बिताउनुपरेको देखियो भने ‘बी’ र ‘ओ’ रगत समूहका व्यक्ति नौ दिन मात्रै आईसीयूमा बस्दा निको भएको देखिएको छ ।

यूनिभर्सिटि अफ ब्रिटिश कोलम्बियामा मेडिसिन विभागका प्राध्यापक मिपिन्दर सेखोनले भन्नुभयो, “थप अध्ययन नभएसम्म ए रगत समूहकाले थुप्रै चिन्ता गर्नुपर्ने र बी वा ओ रगत समूहकाले आफू स्वतन्त्र रहेको ठान्नु हुन्न ।” सेखोन क्यानाडामा गरिएको अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।
अधिकांश मानवको रगत समूह चारमध्येको एक हुन्छ । ‘ए’, ‘बी’, ‘एबी’ वा ‘ओ’ चार रगत समूह हुन् । अमेरिकामा अधिकांश व्यक्ति ‘ओ’ वा ‘ए’ रगत समूहका छन् ।

अनुसन्धानमा संलग्न नरहेका अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका एकजना विद्वान डा।अमेश अदैजाले व्यक्तिको रगत समूहले कोभिड–१९ सङ्क्रमणको अतिसंवेदनशीलता निर्धारणमा भूमिका खेल्न सक्ने बताउनुहुन्छ । गत् जुन महिनामा द् न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुवांशिक अध्ययन शोधमा ‘ए’ रगत समूहका व्यक्तिमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको र ‘ओ’ रगत समूहका व्यक्तिमा जोखिम कम रहेको उल्लेख गरिएको थियो ।

यसअघि पनि कतिपय अवसरमा गरिएको अध्ययनमा रगत समूहले सङ्क्रमणको जोखिमलाई देखाएको थियो । ‘ओ’ रगत समूहका व्यक्तिमा कोरोभाइरसको सङ्क्रमणको जोखिम उच्च देखिएको थियो । कोभिड–१९ निम्त्याउने कोरोनाभाइरसबारे डा। अमेश भन्नुहुन्छ, “हामीले अणुको तहमा शोध गरेर संयन्त्रबारे बुझ्नु र खोज्नुपर्छ ।”
(सीएनएनको समाचारमा आधारित)