
सरकारले घटायो पिसिआरको शुल्क : अब अधिकतम २ हजार, निजी असन्तुष्ट
सरकारले १५ दिनको बीचमा दोस्रोपटक कोरोना भाइरसको संक्रमण रहेरनरहेको पुष्टि गर्ने पीसीआर परीक्षणको शुल्क घटाउँदै अधिकतम शुल्क २ हजार रुपैयाँ कायम गरेको छ । सरकारले १५ दिनमा दुईपटक गरेर सुरुमा कायम भएको शुल्कको आधीभन्दा बढी नै रकम निजी प्रयोगशाला संचालकहरुसँग छलफल नै नगरी घटाएको भन्दै उनीहरु भने रुष्ट बनेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा बोल्दै अब पीसीआर परीक्षणको शुल्क अधिकत २ हजार रुपैयाँ मात्रै कायम गरिएको जानकारी दिएका थिए । उनले तोकिएको शुल्कमा प्रयोगशालाहरुले अन्य शुल्क जोड्न नपाउने समेत बताएका छन् ।
पछिल्लोपटक भदौ १४ गते सरकारले पीसीआर परीक्षणको मूल्य घटाएर ४ हजार ४ सय रुपैयाँ कायम गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पीसीआरमा प्रयोग हुने रिएजेन्ट, एक्सट्र्याक्सन किट, स्वाब संकलन गर्ने भीटीएमदेखि पीपीई लगायत सबैप्रकारका सामाग्रीको मूल्यमा गिरावट आएको छ । त्यसैले शुल्क घटाउँदा उचित हुन्छ भन्ने निष्कर्षमा सरकार पुगेको हो ।
‘स्वास्थ्य सेवा विभागले खरिद गरेका सामाग्रीको मूल्य नै सस्तो भएपछि त्यसैलाई शुल्क घटाउने पहिला आधार मानिएको हो,’ मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा सह–प्रवक्ता डा। समिर अधिकारीले भने, ‘अहिले बजारमा पाइने सबैप्रकारका रिएजेन्टको मुल्य पनि घटेको देखिन्छ । त्यसैले त्यति शुल्कमा परीक्षण गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’ उनका अनुसार केही प्रयोगशालाले पहिल्यै रिएजेन्ट किनेर राखेका भएमात्रै अप्ठेरो पर्न सक्छ । नभए नयाँ खरिद गर्दा रिएजेन्टको मूल्य घटेकै देखिन्छ ।
हाल नेपालभरमा गरेर कुल ४७ वटा प्रयोगशालाबाट दैनिक करिब दश हजार हाराहारी पीसीआर परीक्षण हुने गरेको छ । ४७ मध्ये ३४ वटा सरकारी प्रयोगशाला छन् भने १३ वटा निजी प्रयोगशाला छन् । नेपालमा हाल पीसीआरमा मल्टिप्लेक्सिङ गरी प्राय तीन प्रकारका जिनहरु हेरिन्छ– एन जीन, ई जीन र ओआरएफ वान एबी । -कान्तिपुरबाट
