यी हुन् काठमाडौं महानगरका धेरै संक्रमित वडाहरु

मूलखबर संवाददाता
काठमाडौं, २० भदौ ।

काठमाडौँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका छन् । भदौ ८ गते काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा तीन हजार मात्र ४८६ जना सङ्क्रमित थिए । काठमाडौं महानगरका ७ वटा वडाहरु संक्रमणको हिसावले अत्यन्तै प्रभावित देखिएका छन् ।

यी हुन् काठमाडौँका कोभिड–१९ हटस्पट
महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो ।

वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तर्गत पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् ।
महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै सङ्क्रमितको सम्पर्कमा आएका १९५ जनालाई पहिचान गरिएको छ । तर महानगरको उक्त प्रयास भने पर्याप्त देखिन्न ।
काठमाडौँमा मात्रै शुक्रबार ३८६ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमितको सम्पर्कमा आएका कम्तिमा एक हजार हुन आउँछ । तर दैनिक एक सयदेखि दुई सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरिएको छ ।

काठमाडौँ महानगरपालिका सात वटा वडामा मात्रै एक हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । लक्षणविहीन सङ्क्रमितको सङ्ख्या बढी भएकोले पनि स्थानीय तहका लागि सङ्क्रमित व्यवस्थापन चुनौतीपूर्ण छ । नेपालमा करिब ७५ प्रतिशत लक्षणविहीन सङ्क्रमित छन् ।

महानगरले कन्ट्याक्ट ट्रेसिङका लागि दशवटा टोली खटाएको छ । टोलिले हालसम्म छ हजार ४१३ जनालाई अलग्याएर पीसीआर परीक्षण गरेको छ । प्रवक्ता डङ्गोल भन्नुहुन्छ, “सङ्क्रमित पुष्टि भएसँगै सम्पर्कमा आएकाको खोजी हुन्छ, पहिचान गरेर अलग्याइन्छ र निश्चित समय तोकेर पीसीआर परीक्षण गरिन्छ ।” उक्त कार्यका लागि जनप्रतिनिधि परिचालन गरिएको छ । “स्वास्थ्य उपचार र परामर्शका लागि शहरी स्वास्थ्य क्लिनिक छन् ।” उहाँले थप्नुभयो ।

आइसोलेसनको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको प्रोटोकलबमोजिम निर्धारण गरिएको छ । यद्यपि लक्षणविहीन बिरामीले घरमा छुट्टै कोठा र शौचालयको व्यवस्था नरहेको जानकारी गराएपछि आइसोलेसन सेन्टरमै व्यवस्थापन गरिएको प्रवक्ता डङ्गोलले प्रष्ट्याउनुभयो ।
काठमाडौँमा मात्रै करिब छ सयभन्दा बढी लक्षणविहीन सङ्क्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा बसेका सङ्क्रमितको चिकित्सकीय परामर्श, खाद्यान्न व्यवस्थापनलगायतबारे सम्बन्धित वडाका जनप्रतिनिधिले सोधखोज गर्दै आएको महानगरको दाबी छ ।
वडालाई होम आइसोलेसनमा बस्नेको अभिलेख राख्ने, अनुगमन गर्ने, समस्या बुझ्ने जिम्मेवारी दिइएको महानगरका प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका लागि हाल बलम्बु, आयुर्वेद चिकित्सालय, खरिपाटीसहितका स्थानमा दुई हजार क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा छन् । जसमा करिब एक हजार सात सय जना सङ्क्रमित बसेका छन् ।
प्रवक्ता डङ्गोलका अनुसार नागार्जूनस्थित सामुदायिक भवन र नगरपालिका फोरमले सात हजार शय्या थप्न लागेकोले तात्काल आइसोलेसन शय्याको समस्या हुने देखिन्न ।
काठमाडौँ महानगरभित्र करिब तीन हजार एक सय जनामा सङ्क्रमण सक्रिय रहेको महानगरपालिकाको अनुमान छ ।